२८ औं नगरपरिषदबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रमहरु-बजेट बक्तव्य

२८ औं नगरपरिषद सार्वजनिकीकरण कार्यक्रम
धुलिखेल नगरपालिका स्थापना पछिको २८ औं नगरपरिषदबाट पारित आर्थिक वर्ष २०७३/०७४को नीति, योजना, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न धुलिखेल नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत श्री विश्वराज मरासेनी ज्यू बाट प्रस्तुत बजेट सम्वन्धी वक्तव्यः
धुलिखेल नगरपालिकाको सम्मानित नगर परिषदमा पाल्नु हुने,
आदरणीय प्रमुख अतिथिज्यू,
विशिष्ट अतिथि माननीय संबिधानसभा सदस्य ज्यूहरु,
श्रीमान् प्रमख जिल्ला अधिकारी ज्यू,
श्रीमान् स्थानीय विकास अधिकारीज्यू,
सुरक्षा निकायका प्रमुखज्यूहरु,
जिल्ला स्तरिय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु,
नगरस्तरीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु,
बनेपा न.पा.का कार्यकारी अधिकृतज्यू,
पनौती न.पा.का कार्यकारी अधिकृतज्यू,
दाप्चा-काशीखण्ड न.पा. का कार्यकारी अधिकृतज्यू,
पाँचखाल न.पा.का कार्यकारी अधिकृत ज्यू,
पुर्व नगर प्रमुख ज्यू,
धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्षज्यू,
विभिन्न कार्यालय प्रमुखज्यूहरु,
सल्लाहकार समितिका सदस्यज्यूहरु,
राजश्व परामर्श समितिका सदस्यज्यूहरु,
पत्रकार महासंघ काभ्रेका अध्यक्षज्यू,
धुलिखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष ज्यू,
नगरस्तरिय शान्ति समितिका संयोजक ज्यू,
वडा नागरिक मञ्चका संयोजक तथा सदस्यज्यूहरु,
टोल विकास संस्थाका अध्यक्ष एवं सदस्यज्यूहरु,
नागरिक समाजका अध्यक्षज्यू,
विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु,
साविक काभ्रे गा.वि.स. का राजनीतिक प्रतिनीधिज्यूहरु,
आमन्त्रित अतिथिज्यूहरु,
पत्रकार मित्रहरु ,
मेरा सहकर्मी नगरपालिकाका कर्मचारी साथीहरु,
उपस्थित सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु एंव सम्पूर्ण विकास प्रेमी महानुभावहरुमा यस धुलिखेल नगरपालिकाको २८ औं नगरपरिषद्को निर्णय सार्वजनिकीकरण समारोहमा उपस्थित भई यस समारोहको गरिमा बढाई दिनु भएकोमा सम्पूर्ण महानुभावहरुप्रति हार्दिक स्वागत एवं सम्मान व्यक्त गर्न चाहन्छु । त्यसै गरी यस पावन अवशरमा म राष्ट्र र जनताको लागि आफ्नो जीवन समपर्ण गर्नु हुने ज्ञात अज्ञात वीर शहिदहरु तथा भुकम्पबाट मृत्यु हुने नगरवासीहरु प्रति भावपूर्ण श्रद्धान्जली अपर्ण गर्दछु ।
धुलिखेल नगरपालिकामा आर्थिक तथा सामाजिक विकासका असङ्ख्य सम्भावनाहरु बोकेको यस धुलिखेल नगरपालिकाको विकासको यात्रा वि.स २०४३ मा स्थापना भई आज २९ औं वर्षको दौरानमा छ । राजधानी देखि ३० किलोमिटर पूर्वमा रहेको यस नगरपालिकाले तर्जुमा गरिरहेको दीर्घ कालीन लक्ष्य र क्षेत्रगत गुरुयोजना सहितको आवधिक योजनाले परिकल्पना गरेको "समृद्ध धुलिखेलका लागि पर्यटकीय बिकास, शिक्षा, स्वास्थ्य, ब्यापार र आवास" जस्ता नाराका साथ अगाडि बढिरहेको यस नगरपालिकाको २८ औं नगर परिषद समक्ष आ.व. २०७३/०७४ का लागि तर्जुमा गरिएको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा म लगाएत सिंगो धुलिखेल नगरपालिकालाई गौरव महसुस भईरहेको छ ।
जनताले आफ्ना आवश्यकतालाई सम्वोधन गर्ने योजनाहरु आफ्नै सहभागितामा छनौट गर्न सकुन भन्ने सहभागितामूलक योजना तर्जुमा प्रक्रियाको अवधारणा अनुरुप सबै वडा वासीहरुको व्यापक सहभागिता, वडा नागरिक मञ्चको पूर्ण सक्रियता लगायत विषयगत योजना तर्जुमा बैठक, एकीकृत योजना तर्जुमा समितिको बैठक, राजश्वपरामर्श समितिको बैठक, विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया छलफल र समन्वय गरी नगरपालिकाको वोर्ड बैठकबाट तयार पारिएको आगामी आर्थिक वर्ष २०७३/०७४ को बार्षिक नगर विकास योजनाको प्रस्ताविक नीति, तथा कार्यक्रम र बजेटको विवरण सहित यहांहरु सामु उपस्थित भएको छु ।
आदरणीय महानुभावहरु,
स्थानीय निकायहरु सरकारका विषयगत कार्यालय मात्र नभएर जनताको सबैभन्दा नजिकको सरकार पनि हुन् । स्थानीय सरकारको रुपमा जनताका प्रत्यक्ष सरोकारका सम्पूर्ण पक्षहरुको सम्बोधन गर्नु पर्ने यस्ता महत्वपूर्ण निकायहरु लामो समयसम्म जनप्रतिनिधि विहिन रहँदा वास्तविक जनताको प्रतिनिधित्व हुन नसकेको जानकारी गराउन चाहन्छु । निर्वाचित जनप्रतिनिधि विहीनताको जटिल एंव विषम् परिस्थितिमा पनि सर्वदलिय प्रतिनिधिहरुसँगको समन्वयमा सिमित स्रोत साधनको अधिकतम परिचालन गरि बढ्दो शहरीकरणको व्यवस्थापन तथा जनतालाई आधारभुत शहरी सेवा– सुविधा उपल्व्ध गराउने काममा कुनै किसिमको कमी कमजोरी हुन नदिन सिङगो नगरपालिका परिवार जिम्मेवार भई निरन्तर प्रयासरत रहेको कुरा यहाँहरु सवैमा अनुरोध गर्न चाहन्छु । साथै वर्तमान परिस्थितिमा समुदायमा आधारित वडा नागरीक मञ्च, टोल विकास संस्थाहरु, नागरिक समाज, नागरीक सचेतना केन्द्र,पेशागत संघ–संगठन लगायत अन्य संघसंस्थाहरुले नगरपालिका र नगरबासीहरु विच एउटा विश्वासिलो सेतुको रुपमा काम गरिरहेको छ । निर्वाचित जनप्रतिनिधीहरुको व्यवस्था हुन नसकेता पनि जनमुखी एंव जिम्मेवार राजनैतिक दलहरुको सहमति, समन्वय र सहयोगमा धुलिखेल नगरपालिका आफ्नो घोषित लक्ष्य प्राप्तिमा अविचलित रुपमा कार्यरत रहेको व्यहोरा निवेदन गर्न चाहन्छु । विषेशतः नीतिगत निर्णय र विकास निर्माणको सन्दर्भमा सृजित कठीन चुनौतिहरु सहजरुपमा व्यवस्थापन गर्न राजनैतिक दलहरुको सहयोग, समन्वय, सहकार्यबाट सहभागिताको सिद्धान्त पूर्ति गरेको जानकारी गराउन चाहन्छु ।
आदरणीय महानुभावहरु,
धुलिखेल नगरपालिकामा आर्थिक तथा सामाजिक विकासका प्रचुर संभावना हुदाहुदै पनि आन्तरिक श्रोत साधनको न्यूनताका कारण हाम्रो विकास प्रयास नेपाल सरकारको अनुदानमा नै पूर्ण निर्भर रहेको छ । नगरपालिकालाई प्राप्त सीमित श्रोत र साधनबाट नगरवासीका असीमित आवश्यकताहरु पुरा गर्न अवस्य निकै कठिनाई छ । यस नगर तथा आसपासका क्षेत्रहरुमा बढ्दै गइरहेको बसोबासले सडक, खानेपानी विद्युत, शिक्षा, स्वास्थ्य जस्ता शहरी आधारभुत सेवा सुविधाको मागमा थप दवाव पर्न गएको र यसलाई सम्बोधन गर्ने सन्दर्भमा उत्पादन मूलक उद्योग, व्यापारका साथै सेवामूलक उद्योगहरुको द्रुत विकासको लागि नीतिगत सुधार , सम्पूर्ण व्यवस्थापकीय क्षमता विकास, विकास साझेदारहरुको पहिचान र उपयोग जस्ता विषयहरुमा परम्परागत ढंगबाट मात्र नभइ दीर्घकालिन एवं रणनीतिक दृष्टिकोणबाट सोच्न र सोही अनुसार अल्पकालिन, मध्यकालिन, दीर्घकालिन योजना सहित क्रमशः अगाडि बढ्नु पर्ने बेला आइसकेको तथ्य पनि यस समारोहमा अनुरोध गर्न चाहन्छु ।
यसै आ.व. बाट साविकको काभ्रे गा.वि.स. पनि धुलिखेल नगरपालिकामा गाभिन आएको र ग्रामीण समूदायमा नगरपालिकाका सुविधाहरु पुऱ्याउनुपर्ने, विभिन्न समूहहरु गठन गर्नुपर्ने, सबै टोल विकास संस्था, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र हरुलाई संस्थागत गर्दै अगाडी बढाउने नीति अवलम्बन गर्नुपर्ने कुरा यहाँहरु समक्ष जानकारी गराउँदछु ।
नीति, योजना, कार्यक्रम तथा बजेटको मार्गदर्शन
आर्थिक वर्ष २०७३/०७४ को प्रस्तावित उद्देश्य, नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा निम्न विषयलाई मार्गदर्शनको रुपमा लिईएको छ :
१. नेपालको संविधान, २०७२,
२. सहस्राब्दि विकास लक्ष्यहरु (MDGs), दीगो विकास लक्ष्यहरु (SDGs)
३. चालु त्रिवर्षीय योजनाले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यहरु,
४. संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेट सिलिङ र मार्गदर्शनहरु,
५. स्थानीय स्वायत्त शासन ऐन र नियमावलीहरु,
६. स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९,
७. सहभागितात्मक र समावेशी योजना तर्जुमा प्रक्रियाद्वारा प्राथमिकता निर्धारण भई आएका योजना तथा कार्यक्रमहरु,
८. मन्त्रालयसगँ गरिएको कार्यसम्पादन सम्झौताले परिलक्षित गरेका सुचकहरु,
९. वडा नागरिक मञ्चबाट सिफारिस भैआएका कार्यक्रम तथा आयोजनाहरु,
१०. नगरपालिकाको आ.व. २०७२।०७३ तथा विशेष परिषदले निर्दिष्ट गरेका नीति, योजना तथा कार्यक्रमहरु,
११. स्थलगतरुपमा गरिने आयोजनाहरुको अनुगमन तथा सुपरीवेक्षणबाट प्राप्त सिकाई ,
१२. विगतका समिक्षा तथा कार्यअनुभव, लेखा परिक्षण प्रतिवेदनबाट आएका सुझावहरु ।
१३. जिविस काभ्रेबाट प्राप्त बजेट सिलिङ्ग तथा मार्गदर्शन ।
१४. जनसहभागिता,लागत सहभागिता,स्थानिय श्रोत साधनको परिचालन मार्फत सशक्तिकरण, मुलप्रवाहिकरण मार्फत समावेशी एवम् दिगो विकासलाई सहयोग गर्ने खालका कार्यक्रमहरु ।
१५. सस्ंथागत सुशासन, उत्तरदायित्व एवम् जवाफदेहिता सुनिश्चित गर्न सामाजिक परीक्षण,सार्वजनिक परिक्षण,सार्वजनिक सुनुवाई, नागरिक सर्वेक्षण, आवधिक समिक्षा आदिलाई प्राथमिकता दिनुपर्ने सरकारी मार्गदर्शन एवं त्यस्ता कार्यक्रमहरु बाट प्राप्त पृष्ठपोषण ।
आदरणीय प्रमुख अतिथिज्यू तथा उपस्थित महानुभावहरु,
अव म आगामी आगामी आ.व. २०७३/०७४ को दीर्घकालिन सोच, उद्देश्य, नीति तथा कार्यक्रम वारेमा संक्षिप्तमा उल्लेख गर्न चाहन्छु ।
क) उद्देश्यः
१. विकासका पूर्वाधारहरुको विस्तार र पहुँच वस्तीस्तरसम्म वृद्धि गरी विकासका अवसरहरुलाई पर्याप्त उपयोग गर्ने अवस्थाको सुनिश्चितता गर्ने ।
२. समावेशी र समन्यायिक विकासको अवधारणा मार्फत विभिन्न वर्ग, क्षेत्र, लिंग, सम्प्रदाय, जात–जातीको श्रोत साधनमा पहुँच अभिवृद्धि गर्ने ।
३. उत्पादनमूलक क्षेत्रमा व्यवसायिकता र उद्यमशीलताको विकास एवं सामाजिक परिचालन मार्फत गरिवी न्यूनिकरणमा विशेष जोड दिने ।
४. विकासको दृष्टिले पछाडि परेका वडाहरुमा प्राथमिकताका साथ विकास कार्यक्रमहरु पु¥याई जनताको सामाजिक तथा आर्थिक रुपान्तरणमा सहयोग पु¥याउने ।
५. सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सम्बन्धी चेतनाको स्तरोन्नती गरी दीर्घकालन लक्ष्य प्राप्तीमा टेवा पु¥याउने ।
६. विकास कार्यक्रम तथा आयोजनाहरु संचालन गर्दा सरोकारवालाहरु विच समन्वय गर्दै जनसहभागीता, पारदर्शीता र उत्तरदायित्व बढाई सुशासनको प्रत्याभुति दिने ।
७. समृद्ध र श्रोत सम्पन्न नगरको रुपमा विकास गर्ने ।
ख) दीर्घकालिन नीति
१. एकीकृत र दीर्घकालिन विकासको लागि आवधिक पञ्चवर्षिय योजना तर्जुमा गरी कार्यान्वयन गर्ने ।
२. नगरको भूउपयोग र आवास नीति तर्जुमा गरी समुन्नत शहरको रुपमा विकास गर्ने ।
३. आधारभूत र आधुनिक सेवा सुविधा सरल र सहजरुपमा नागरिकहरुमाझ उपलव्ध गराई नागरिकहरुको विश्वास प्राप्त निकायको रुपमा स्थापित गर्ने ।
४. नगरपालिकाको राजश्व क्षमता सुदृढ गरी सक्षम संस्थाको रुपमा विकास गर्ने ।
५. कृषिलाई व्यवसायिकीकरण गरी रोजगारी मार्फत गरिवी न्यूनीकरणमा टेवा पुर्याउने ।
६. औद्योगिक पूर्वाधार विकास मार्फत औद्यागिक क्षेत्रको रुपमा विकास गर्ने ।
७. धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको विकास गरी पर्यटकीय नगरीको रुपमा विकास गर्ने ।
८. लैंगिक समानता र सामाजिक समावेशीको माध्यमबाट सामाजिक न्याय स्थापित गर्ने ।
९. सार्वजनिक सम्पत्तिको संरक्षण र प्रवद्र्धन गर्ने ।
१०. सार्वजनिक पारदर्शिता, उत्तरदायित्व र अनुशासन कायम गराई नगरवासीहरुलाई सुशासनको अनुभूति दिई राष्ट्रियस्तरमा पहिचान कायम गर्ने ।
११. शिक्षा, स्वास्थ्य, भाषा, साहित्य र खेलकुदको विकस गर्ने ।
१२. सूचना प्रविधिको विकास र विस्तार गरी सेवा प्रवाहलाई छरितो तुल्याउने ।सरसफाई र वातावरण संरक्षणमा अग्रणी नगरपालिकाको रुपमा स्थापित गर्ने ।
बिकास नीति
अब म २७ औं नगर परिषद् र २०७२ कार्तिक २३ गतेको विशेष परिषदबाट स्वीकृत नीति एंव कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप नीति तथा कार्यक्रमहरु मात्र प्रस्तुत गर्न गईरहेको छु ।
क) शहरी पूर्वाधार तथा भौतिक संरचना विकास नीति :
१. नगरपालिका क्षेत्रभित्रका ब्यापारिक क्षेत्र, आवासीय क्षेत्र, नीजि क्षेत्रबाट बिकास गरिएका (प्लटिङ्ग) क्षेत्रहरुमा भौतिक तथा सामाजिक बिकासका कार्यक्रमहरु सञ्चालन गर्दा लाभग्राहीको स्वामित्व र जिम्मेवारी प्रवर्द्धन गर्न साविकको सहभागिता नीतिमा समसामयिक परिवर्तन गरी भू–उपयोगको आधारमा न्यायोचित लागत सहभागिताको नीति कार्यान्वयनमा ल्याईनेछ ।
२. शहरीकरणलाई ब्यवस्थित र सुरक्षित गर्ने उद्देश्यले नेपाल सरकारले कार्यान्वयनमा ल्याएको राष्ट्रिय भवन संहिता २०६० (National Building Code) लाई यस नगरपालिकामा आ.ब. २०७३/०७४ मा प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । साथै यस कार्यलाई संस्थागत गर्न शहरी बिकास शाखा मातहत रहने गरि भुकम्प सुरक्षा/नक्सापास तथा GIS शाखा गठन गरी व्यवस्थित गरिनेछ ।
३. नगरपालिका भित्रको बाटो, ढल लगायत अन्य पूर्वाधारहरु, सार्वजनिक सम्पति र घरधुरीहरुको बिवरण भएको GIS Software Data लाई समयानुकुल अद्यावधिक गरिनेछ ।
४. २ वर्षभित्र E building Permission कार्यको थालनी गरिनेछ ।
५. भू-उपयोग योजना अन्तर्गत, सडक बत्ती, ढल व्यवस्थापन तथा खानेपानीको आवश्यक पूर्वाधार सबै व्यवस्था भएको ठाउँमा मात्र घर निर्माणका लागि अनुमति दिईनेछ ।
६. बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभुत मार्गदर्शन २०७२, शहरी विकास मन्त्रालयबाट तयार गरेको भवन निर्माणको लागि नमुना मापदण्डहरुलाई कार्यान्वयनमा ल्याईनेछ ।
७. आगामी २ वर्ष भित्रमा नगर यातायात गुरु योजना, City Town Planning तयार गरी सोही अनुसार सडक निर्माण कार्यलाई अगाडी बढाईने छ ।
८. योजनाहरुमा जनसहभागीता एंव लागत सहभागीताको पक्ष न्यून बन्दै गईरहेको कटु यथार्थतालाई मनन गरी योजना छनौट गर्दा जनसहभागीता बढी हुने क्षेत्रमा योजना तथा कार्यक्रमलाई प्राथमिकता दिईने नीति अलम्वन गरिनेछ ।
ख) जलस्रोत, वातावरण तथा सरसफाई विकास नीति
१. नगरपालिकाले वातावरण मैत्री स्थानीय शासनको प्रारुप २०७० मा उल्लेखित वातावरण मैत्री कार्यालयका सूचकहरु कार्यान्वयनमा ल्याएको हुनेछ ।
२. नगरपालिका क्षेत्रमा जथाभावी जग्गा प्लटिङ गर्ने कार्यलाई पूर्ण रुपमा रोकिनेछ ।
३. सरकारी, गैह्र-सरकारी, निजि क्षेत्रहरुको समन्वयमा खुला दिशामुक्त नगर घोषणाको अभियानलाई निरन्तरता दिईनेछ ।
४. धुलिखेल नगरपालिकालाई कालो प्लाष्टिक झोलामुक्त नगर बनाउन अभियानको थालनी गरिनेछ । यसलाई प्रभावकारी बनाउन सरोकारवालाहरुसँगको समन्वय र सहकार्यलाई ब्यापक बनाई प्लाष्टिक प्रदुषणमुक्त नगर बनाउने नीतिलाई बिशेष कार्यक्रम सहित प्रभावकारी बनाईनेछ ।
५. नगरक्षेत्रभित्रका छाडा पशु चौपाया नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
६. धुलिखेल अस्पतालमा मृत्यु भएका लासहरुको उचित व्यवस्थापनका साथै कपाली समाजका लागि समेत समेटर मसानघरको व्यवस्था गर्न न.पा.बाट उपयुक्त स्थानको खोजी गरिनेछ ।
७. धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सञ्चालनमा ल्याएका क्षेत्रहरुमा खानेपानी आपूर्ति व्यवस्था समितिले नै गर्ने र अन्य क्षेत्रहरुमा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाबाट व्यवस्थापन नभएसम्मको लागि नगरपालिकाबाट नै खानेपानीको तथा मुहानहरुको संरक्षण तथा आपूर्तिको व्यवस्थापन गरिनेछ ।
ग) आर्थिक प्रशासन तथा राजश्व परिचालन नीति
१. थप भएका वडाहरुमा एकीकृत सम्पत्ति कर लगायतका अन्य करहरु लगाईनेछ ।
२. स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली २०५६ बमोजिम नगरपालिकाले उठाउदै आएको ब्यबसायकर संकलन कार्यमा सार्वजनिक नीजि साझेदारी अवधारणा अनुसार नगरपालिका र धुलिखेल उद्योग बाणिज्य संघ बीचको साझेदारीलाई समयसापेक्षरुपमा परिमार्जन गरि थप प्रभावकारी बनाईनेछ
३. लेखा परीक्षणबाट औंल्याईएका सुझावहरुलाई आगामी दिनहरुमा कार्यन्वयन गर्दै बक्यौता बेरुजु एवं पेश्की फछ्र्यौट गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
४. बित्तिय ब्यबस्थापनसँग सम्बन्धित योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन मूल्यांकन सम्बन्धि सम्पूर्ण सूचना तथा तथ्यांकलाई नगरपालिका सूचना प्रणाली (Municipality Information System) मा आबद्ध गरि प्रभावकारी बनाईनेछ ।
५. धुलिखेल नगरपालिकाको आयव्ययलाई चुस्त दुरुस्त बनाउन प्रोदभावी लेखा प्रोदभावी लेखा प्रणाली (Accrual Accounting System) लागु गर्न आवश्यक प्रकृया बढाईने छ ।
घ) पर्यटन तथा सँस्कृति सम्बन्धी नीति
१. नगरको पर्यटन बिकासका लागि एक गुरुयोजना तयार गर्न अन्य सरोकारवाला निकायसँग आवश्यक पहल गरी धुलिखेल नगरपालिकाको पर्यटन गुरु योजना अद्यावधिक गरिने छ ।
२. भुकम्पबाट क्षति भएका धार्मिक तथा पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण गर्ने कार्यलाई अगाडि बढाईनेछ ।
३. नगरमा पर्यटक आकर्षण गर्ने विविध कार्यक्रम तथा पर्यटकको सुबिधाका लागि नगरका प्रमुख पर्यटकीय गन्तब्य स्थलहरुमा आबश्यकता अनुरुप शौचालय ब्यवस्था तथा सरसफाई कार्यहरुलाई ब्यबस्थित गरिनेछ ।
४. परम्परागत कलात्मक भवनहरुको संरक्षण तथा पर्यटन बिकासका लागि प्रर्दशनी जस्ता बिशेष कार्यक्रमहरु सञ्चालनमा ल्याईनेछ ।
५. कला, सस्कृति संरक्षणका लागि स्थानीय चाडपर्व, जात्रा, पूजा जस्ता कार्यहरुलाई निरन्तर संञ्चालन गर्न सहायता दिईनेछ ।
६. नगरपालिकाले पर्यटन मन्त्रालय सगँ समन्वय गरी नगरको कम्तिमा एक वस्तिमा Homestay कार्यक्रम संचालन गरिनेछ ।
ङ) सुशासन प्रवर्द्धन एंव संगठन विकास नीति
१. नगरपालिकाको संगठन संरचना ज्यादै पुरानो, काभ्रे चण्डेश्वरीलाई नगरपालिकामा समायोजन, सबै वडाको काम नगरपालिका कार्यालयबाट संञ्चालन गर्दा आम नगरवासीको सेवा प्रवाहमा कठिनाई महसुस भएको हुँदा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट अनुमति लिई संगठन संरचना समयसापेक्ष बनाईने छ ।
२. संयुक्त वडा कार्यालयहरु नभएको हुँदा १०, ११, १२ वडाको लागि संयुक्त कार्यालय काभ्रे भञ्ज्याङ, १ र १३ वडाको लागि पायक भट्टेडाँडा, ८ र ९ वडाका लागि पायक स्थान श्रीखण्डपुर, ६ र ७ वडाका लागि पायक स्थान बाँसघारी र बाँकी वडाहरुका लागि नगरपालिकाबाटै सेवा प्रवाह गरिनेछ ।
३. निजामति सेवामा समेत २४ ‘घ’ बढुवा प्रणाली हटाई सकेको हुँदा नगरपालिकामा पनि २४ ‘घ’ बढूवा प्रणाली पूर्ण रुपमा हटाईनेछ ।
४. नयाँ संगठन संरचना स्वीकृत भएपछि हाल कार्यरत कर्मचारीलाई स्वीकृत पदमा स्वत: समायोजन गरिनेछ । नयाँ दरबन्दी स्वीकृत भएमा हाल कार्यरत स्थायी कर्मचारीको अवकाश नभएसम्म व्यवस्थापन गरी नयाँ संगठन संरचना बमोजिम कर्मचारी व्यवस्थापन गरिनेछ ।
५. श्रेणी बिहीन र मुखिया भन्दा मुनिका दरबन्दीमा रही अवकाश भई रिक्त रहने दरबन्दी स्वत: खारेज गरिनेछ ।
६. नागरिक बडापत्रको माध्यमबाट सबै तह तथा वर्गको पहुँचमा पुग्ने खालका कार्यक्रमहरु कार्यान्वयनमा ल्याईनेछ ।
७. पारदर्शिता एवं सुशासनका लागि नगरपालिकासँग सम्बन्धित सुचनाहरुलाई बिद्युतीय तथा छापा सञ्चार माध्यमबाट सार्बजनिकीकरण गर्ने कार्यक्रमलाई प्रभावकारी बनाई निरन्तरता दिईनेछ ।
८. फोहोमैला ब्यबस्थापन, ढल प्रशोधन केन्द्र रेखदेख, कार्यालय सुरक्षा, सरसफाई, बगैचा हेरचाह, सवारी चालक, फायरम्यान, विधुतीय उपकरण मर्मत जस्ता सेवा करारमा लिने कार्यलाई निरन्तरता दिईनेछ ।
९. आगामी आ.ब.२०७३/०७४ मा नगरपालिकाले संचालन गर्ने कार्यक्रमहरुमा तेश्रो चौमासिकको अन्तमा पेश्कि दिने प्रणालीलाई निरुत्सातिह गर्ने र कार्य सम्पन्नताको आधारमा भुक्तानी उपलव्ध गराई पेश्कि वेरुजु घटाउने तथा हाल सम्म रहेको पेश्कि फर्छ्यौट गर्ने कार्य लाई विशेष जोड दिईनेछ ।
१०. सुशासन प्रवर्द्धन तथा संस्थागत बिकाससँग सम्बन्धित योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन मूल्यांकन सम्बन्धि सम्पूर्ण तथ्याङ्क नगरपालिका सूचना प्रणाली (Municipal Information System) मा आबद्ध गरी अद्याबधिक गरिनेछ ।
११. पारदर्शीता एवं सुशासनका लागि नगरपालिकाको आम्दानी एवं खर्चलाई सार्वजनिकीकरण गर्ने कार्यलाई निरन्तरता दिनुका साथै बिकास निर्माण कार्यमा पारदर्शीता कायम गर्न योजना स्थलमा नै सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
१२. नगरपालिकाहरुबीच अनुकरणीय कामहरु सम्बन्धि अनुभव आदान प्रदान गर्ने र सोहि माध्यमबाट क्षमता अभिबृद्धि गर्ने उद्देश्यले स्थापना भएको नगरपालिकाहरुको क्षेत्रिय सञ्जाल नगरपालिका क्षेत्रिय अध्ययन केन्द्र, काठमाडौं उपत्यकाको सचिवालय यस नगरपालिकामा रहेको हुँदा केन्द्रको सस्थागत बिकास तथा केन्द्र मार्फत् सञ्चालन गरिने कार्यक्रमहरुलाई सहयोग गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
१३. नगरपालिकाको कर्मचारीहरुलाई उत्प्रेरित गर्न, कार्यसम्पादन सम्झौता गरी आवश्यकता अनुसार स्थानीय भत्तामा वृद्धि गरिनेछ ।
च) शिक्षा तथा स्वास्थ्य नीति
१. धुलिखेल नगरपालिकाद्वारा व्यवस्था गरिएका सामुदायिक विधालयहरुको विधार्थी सङ्ख्या, क्षेत्र,र विधालय दुरीलाई आधार बनाई प्राविधिक विशेषज्ञ सहितको कार्यदल गठन गरी सो विधालयहरुको अनुगमन निरीक्षण प्रतिवेदनको आधारमा विधालय समाहित (मर्ज) को व्यवस्थालाई अगाडि बढाईने छ ।
२. गरीब तथा दलित विद्यार्थी, बालबालिका हरुलाई छात्रवृत्ति, कम्प्यूटर तालिम तथा पोशाक एवं शैक्षिक सामाग्री उपलब्ध गराइने छ ।
३. पाठेघर सम्बन्धी रोकथाम तथा जनचेतना कार्यक्रम, प्रजनन् स्वास्थ्य सम्बन्धी जनचेतना, भिटामिन ए, पोलियो थोपा जस्ता कार्यक्रमहरु सञ्चालनमा निरन्तरता दिईने छ ।
४. स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतना अभिबृद्धि गरी HIV/AIDS, लागुपदार्थ तथा दुव्र्यसनी नियन्त्रण र तिनको हेरचाहको लागि विभिन्न स्वास्थ्य संस्थाहरुको सहयोग, समन्वय र साझेदारी गर्ने नीति अवलम्वन गरिने ।
छ) महिला, बालबालिका, जेष्ट नागरिक, आदिवासी जनजाति दलित, मुस्लिम र अपाङ्ग विकास नीति
१. नगरक्षेत्रभित्र वसोवास गर्ने जेष्ठ नागरिक, आदिवासी जनजाति, दलित मुस्लिम र अपाङ्ग समुदायको समानुपातिक विकासका लागि भौतिक पूर्वाधार निर्माण, क्षमता विकास, सीपमुलक तालिम जस्ता कार्यक्रम मार्फत सहयोग गरिनेछ ।
२. धुलिखेल नगरपालिकाभित्र आगामी वर्षभित्र Gender Focal Desk स्थापना गरी Gender Focal Person समेत तोकिनेछ ।
३. बालश्रमका सवालहरुलाई मुल प्रवाहिकरणका साथै धुलिखेल नगरपालिकामा निकृष्ट प्रकारको बालश्रम निवारण कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गरिनेछ । साथै बालश्रम निवारण एकाइ न.पा. भित्र गठन गरिनेछ ।
४. आगामी १ वर्षभित्र धुलिखेल नगरपालिकालाई बाल मैत्री स्थानीय निकाय अन्तर्गत बाल मैत्री नगर घोषणा गर्ने नीति लिईनेछ ।
५. लैङ्गिक विकासका लागि समानुपातिक व्यवहार लैङ्गिक बजेट र सशक्तिकरण गरिने नीति अवलम्बन गरिनेछ ।
ज) सार्वजनिक निजी साझेदारी सम्बन्धी
१. सार्वजनिक नीजि साझेदारी (Public Private Partnership PPP) अवधारणा अन्तर्गत सञ्चालनमा रहेका साझेदारी आयोजनाहरु मध्ये कम प्रभावकारी सिद्ध भएका आयोजनाहरुका सम्बन्धमा बैकल्पिक ब्यबस्था गर्ने र सफल आयोजनाहरु प्रभावकारीताको आधारमा निरन्तरता दिईनेछ ।
२. नगरपालिकाको आयश्रोत बृद्धि हुनेगरी सार्वजनिक नीजि साझेदारी अवधारणा मार्फत सञ्चालित सार्वजनिक शौचालय, पार्क, पोखरी, पार्किङ्ग, फोहरमैला व्यवस्थापन, सडकबत्ती व्यवस्थापन, बजार व्यवस्थापन साथै व्यवस्थित एकिकृत मासु पसल तथा बधस्थल BOOT अर्थात पुर्वाधार निर्माण, संचालन तथा हस्तान्तरण सम्बन्धि कानुनको अधिनमा रही व्यवस्थापन नीजि क्षेत्रद्धारा गराईनेछ ।

झ) सामाजिक परिचालन सम्बन्धी
१. वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र तथा टोलसुधार समितिका पदाधिकारीहरुको क्षमता विकास, तालिम तथा प्रभावकारी सञ्चालन गरिनेछ ।
२. नगरपालिकाका सबै वडाहरुमा सामाजिक परिचालन कार्यक्रम क्रमशः लागु गरी सामाजिक सचेतना अभिबृद्धि गर्दै जनताको सहभागिता अभिवृद्धि गरिनेछ ।
ञ) सूचना सञ्चार तथा प्रविधि विकास सम्बन्धी
१. नगरपालिकाका कार्यक्रमहरु तथा विभिन्न सूचनाहरु विधुतीय माध्यमबाट छिटो छरितो तवरले प्रसारित गरिनेछ
२. नगरपालिकाका विभिन्न सेवाहरुलाई विस्तारै e-Governance अवधारणा अनुरुप अगाडि बढाईनेछ ।
३. नगरपालिकाको वेभसाईट तथा सामाजिक सञ्चालहरुका साथै Audio Notice Board, अनलाईन गुनासो जस्ता कार्यहरुलाई प्रभावकारी रुपले अगाडि बढाईनेछ ।
अन्य नीतिहरु
o यस नगरपालिकाले स्वदेशी तथा विदेशी नगरपालिकाहरुसंग भगिनी सम्बन्ध विस्तार गरी आपसी सहयोग बढाउने नीति लिनेछ । त्यसै अनुरुप हाल दक्षिण कोरियाको उल्जिन शहरसँग भगिनी सम्बन्ध कायम गर्ने कार्यको अन्तिम चरणमा पुगेको यहाँहरु समक्ष जानकारी पनि गराउँदछु ।
o नगरपालिकाले शहरी विकास मन्त्रालयसगँ समन्वय गरी Land Pooling कार्यक्रम संचालन गरिनेछ । हाल विभिन्न कारणबाट सञ्चालनमा नरहेको धु.न.पा-७ स्थित Land Pooling कार्यक्रमलाई यस आ.व. बाट नै प्रकृया अगाडि बढाई आगामी १ वर्षभित्र शहरी पुर्वाधारको विकास गरी जग्गा नगरवासीलाई नै फिर्ता गरिनेछ ।
o विपद व्यवस्थापन गर्न सार्वजनिक तथा सरकारी जग्गाहरु संरक्षम गरी खुला क्षेत्र कायमा गरी सो को जानकारी मन्त्रालयहरुमा पठाईनेछ ।
o रु ६० लाख भन्दा माथिको सवै प्रकारको ठेक्कामा ई–सवमिसन लागू गरिनेछ,
o पूर्ण अशक्त/असाहय वृद्ध वृद्धाहरुलाई घर मै गएर भत्ता वितरण गरिनेछ,
o नगरपालिकालाई भ्रष्टाचारमा शुन्य सहनशिल नगरपालिकाको रुपमा घोषणा गरिने छ।
o नगरपालिकाको सक्रियतामा वडाहरुमा शहरी स्वास्थ्य क्लिनिक संचालन गरिने छ ।
o नगरपालिकाले हरेक वर्ष आफनो क्षेत्रमा रहेको सम्पूर्ण सार्वजनिक जमिन तथा सम्पतिको लगत तयार गरी सोको जानकारी मन्त्रालयमा पठाउने ।
o नगरपालिकाबाट सहयोग पाउने सामुदायिक विद्यालयहरुमा पानी सहितको छात्र/छात्रा का लागि अलग–अलग शौचालय निर्माणमा जोड दिईनेछ ।
o नगरक्षेत्रमा घर निमार्णमा संलग्न डकर्मी मिस्त्री आदिलाई तालिम प्रदान गरी भवन संहिता सम्बन्धि तालिम प्राप्त जनशक्तिबाट भवन बनाउने व्यवस्था गरिने छ ।
o नगरपालिकाले कम्तिमा २५ जना व्यक्तिलाई Cost Effective Housing निर्माण सम्बन्धि १० दिने तालिम प्रदान गरी Certified गरेको डकर्मीहरुबाट यस्ता प्रकारका घरहरु निर्माणका लागि प्रोत्साहन गरिनेछ ।
o नगरपालिकाले फोहरमैला व्यवस्थापन गर्न वर्षको कुनै महिनाको कुनै हप्तालाई सरसफाई सप्ताह घोषण गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
o City Civil Code निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ ।
o नगरक्षेत्रभित्र एक वस्तु एक नगर कार्यक्रम संचालनमा ल्याई स्थानिय आर्थिक विकास वृद्धि गरिनेछ ।
o नगरक्षेत्रमा सडकहरु विस्तार हुनुको साथै मेट्रिक सिस्टम कार्यान्वयनमा ल्याईनेछ ।

आदरणीय महानुभावहरु,
सीमित श्रोत साधनले असीमित माग र बढ्दो आकाक्षां एकै पटक सम्बोधन गर्न नसकिने यर्थाथतामा नगरपालिका लाई नेपाल सरकार दातृनिकाय, विभिन्न सघं सस्थाबाट प्राप्त हुने शर्शत तथा निशर्त अनुदान,ऋण तथा आन्तरिक आय एवं लागत सहभागिताको दायरालाई समेत मूल्याङकल गरी बजेट तर्जुमा गरिएको छ ।
अव म आर्थिक वर्ष २०७३।०७४ का लागि वार्षिक नगर विकास योजना तर्जुमा गर्ने क्रममा अख्तियार गरिएका उद्देश्य तथा नीतिको आधारमा तयार गरिएका योजना तथा कार्यक्रमहरुको प्रस्तावित कार्यक्रमको अनुमानित आय व्यय प्रस्तुत गर्न चाहन्छु ।
क) आय अनुमानः
आ.व. २०७३।०७४ का लागि कूल रु. १३ करोड ९४ लाख ९१ हजार ५ सय आय अनुमान गरिएको छ । जसमध्ये आन्तरिक श्रोतबाट रु. १ करोड ३१ लाख २२ हजार ९ सय रहेको छ, जुन रकम कूल बजेटको ९.४०% हुन आउछ । वाह्य अनुदान तर्फ नेपाल सरकारको नगरपालिका अनुदान पुजिगत रु. १ करोड २० लाख र चालुतर्फ रु. १ करोड ५ लाख, स्थानीय विकास शुल्क रु. १ करोड ७० लाख, साबिक काभ्रे गा.वि.स. (हालको धु.न.पा.-१०,११,१२ र १३) को वजेट ४० लाख, सडक बोर्डबाट रु. ५० लाख, जगेडा कोषबाट रु. ३ करोड, राजश्व बाँडफाँड रु. ३० लाख र सौर्य बैकल्पिक ऊर्जा रु. २४ लाख, नगर विकास कोष ऋण(सपिङ कम्प्लेक्श) रु. १ करोड, पर्यटन मन्त्रालयको अनुदानको खर्च रु. २३ लाख, ल्याण्डफिलसाईट निर्माण रु. १५ लाख , शहरी विकास मन्त्रालयबाट रु. १० लाख र उपभोक्ता समिति लागत सहभागिता रु. ६० लाख, सामाजिक सुरक्षा कार्यक्रमको रु. १ करोड ६६ लाख २३ हजार ६ सय, LGCDP बाट रु. ५० लाख, स्थानीय शान्ति समिति रु. ४५ हजार, आन्तरिक स्रोत चालुतर्फ रु. १ करोड हुने अनुमान गरिएको छ ।
ख) व्यय अनुमान
आ.व. २०७३।०७४ को लागि कूल रु. रु. १३ करोड ९४ लाख ९१ हजार ५ सय व्यय अनुमान प्रक्षेपण गरिएको छ । जसमध्ये प्रशासन खर्च मध्ये कार्यालय सञ्चालन तर्फ रु. २ करोड ३६ लाख २२ हजार ९ सय ,स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम तर्फ ५० लाख ,स्थानीय शान्ति समिति तर्फ ४५ हजार र सामाजिक सुरक्षा तर्फ रु. १ करोड ६६ लाख २३ हजार ६ सय,गरी जम्मा रु. ४ करोड ५२ लाख ९१ हजार ५ सय रहेको छ, जुन कूल बजेटको ३२.४७% हुन आउछ । त्यसै गरी विकास तर्फ रु. ९ करोड ४२ लाख विनियोजन गरिएको छ, जुन रकम कूल बजेटको ६७.५३% हुन आउछ ।

यसै गरी गत आर्थिक वर्ष २०७१/०७२ मा कुल आम्दानी प्रक्षेपण रु १९ करोड ६१ लाख १२ हजार ५ सय २६ रुपैंया र १९ पैसा गरिएकोमा कुल जम्मा रु. १४ करोड ८७ लाख ६८ हजार ५४ र ४२ पैसा मात्र आम्दानी भएकोमा कुल खर्च रु. १४ करोड ९ लाख ६९ हजार ७ सय २० र ५ पैसा मात्र भई ७७ लाख ९८ हजार ३ सय ३४ रुपैंया र ३७ पैसा मात्र बैकं मौज्दात रहेको जानकारी गराउछु ।

अब म आर्थिक बर्ष २०७३/७४ का लागि स्थानीय स्रोत परिचालन कार्यवीधि २०६९ को पुर्ण पालना गर्दै लक्षित बर्गका लागि फाईदा पुग्ने गरी माग र आवश्यकताका आधारमा कार्यक्रमको प्राथिमिकिकरण गर्दै प्रस्ताव गरिएको कार्यक्रमहरुको पुजिगत खर्चतर्फको सक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
लक्षित विकास कार्यक्रम तर्फः रु. ९८ लाख २८ हजार मात्र विनियोजन गरिएको छ । जसअनुसार
क) सबै जातजाति विपन्न बर्गका महिलाहरुलाई फाईदा पुग्ने कार्यक्रमयआयोजनाका लागि रु २४,९७,०००।– (१० प्रतिशत)
ख) सबै जातजाति विपन्न बर्गका बालवालिकाहरुलाई फाईदा पुग्ने कार्यक्रम÷आयोजनाका लागि रु ३६,८५,५००।– (१५ प्रतिशत)
ग) सबै जातजाति आर्थिक रुपमा विपन्न तथा आर्थिक एवं सामाजिक रुपमा पिछडिएका बर्ग एवं समुदायलाई प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रम÷आयोजनाका लागि रु ३६,८५,५००|– (१५ प्रतिशत)
घ) आर्थिक सामाजिक एवं भौतिक पुर्वाधार विकास तर्फका लागि रु ६५,००,०००।– विनियोजन गरिएको छ ।
ङ) प्रबद्र्धनात्मक क्षेत्र तर्फ रु ८२,४२,०००।– विनियोजन गरिएको छ ।

माथि उल्लेखित विनियोजित पूँजीगत वजेटको विभिन्न शिर्षक तर्फ निम्नानुसार बाँडफाँड गरिएको छ ।
क्र.स. बर्गीकरण प्रतिशत
१ सडक तर्फ - २ करोड ५० लाख 26.54%
२ खानेपानी तर्फ - रु १ करोड ५ लाख 11.15%
३ नगर विकास कोष ऋण (सपिङ कम्प्लेक्स) - १ करोड 10.62%
४ सरसफाई तथा वातावरण सुधार - रु. ७८ लाख ५० हजार 8.33%
५ समपुरक कोष तर्फ - रु ६० लाख 6.37%
६ राजश्व वाँडफाँड तर्फ - ६० लाख 6.37%
७ साना योजनाहरु तर्फ - रु ५५ लाख ९५ हजार २ सय 5.94%
८ रंगशाला निर्माण – रु. ५० लाख 5.31%
९ सामाजिक/क्षमता विकास – रु. ४७ लाख ७९ हजार ३ सय 5.07%
१० सौर्य वैकल्पिक ऊर्जा - २४ लाख 2.55%
११ पर्यटन मन्त्रालयको अनुदान खर्च - २३ लाख 2.44%
१२ भवनतर्फ - रु १५ लाख 1.59%
१३ ल्याण्डफिल साईट निर्माण - १५ लाख 1.59%
१४ ग्रामीण विद्युतीकरण- रु.१४ लाख 1.49%
१५ मर्मत संभार तर्फ - रु १३ लाख ५० हजार 1.43%
१६ कन्टेन्जेन्सी तर्फ - रु १० लाख ८० हजार 1.15%
१७ सहरी विकास मन्त्रालय तर्फ - १० लाख 1.06%
१८ ऐतिहाँसिक/पूरातात्विक स्थलको संरक्षम र संवर्द्धन – रु.९५ हजार ५ सय 1.00%
पूँजीगत जम्मा :- ९ करोड ४२ लाख
चालु जम्मा:- ४ करोड ५२ लाख ९१ हजार ५ सय
कुल जम्मा रु. १३ करोड ९४ लाख ९१ हजार ५ सय

प्रमुख अतिथि तथा उपस्थित महानुभावहरु,
अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने चरणमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण नगरवासीहरुमा धन्यवाद दिन चाहन्छु । यो नीति तथा कार्यक्रम र बजेट तर्जुमाका रुपमा हरबखत अमूल्य सुझावका साथ सहयोग दिनु हुने नगरस्थित राजनैतिक दलका पदाधिकारी एंव प्रतिनधिज्यूहरुको विकास प्रतिको एकता,संवेदनसिलता, क्षेत्रगत सूचनाको जानकारी एवं दलहरु बीच रहेको उच्चस्तरीय समन्वय, सहकार्य र सहभागिता हाम्रा लागि अन्त्यत महत्वपूर्ण उपलब्धी हुन आएकाले वहांहरुप्रति हार्दिक आभार एंव कृतज्ञाता प्रकट गर्दै यस कार्यमा प्रत्यक्ष सहयोग पुर्याउनु हुने वडा नागरिक मन्चका सम्पूर्ण पदाधिकारीज्यूहरु लगायत विषयगत कार्यालयहरु, नागरिक समाज,गै.स.स. सामुदायीक तथा निजि क्षेत्रका संघसंस्था, एकिकृत योजना तर्जुमा समितिमा रहेर योगदान पुर्याउनु हुने सम्पूर्ण सदस्य महानुभावहरु, व्यवसायी, उद्यमी समाजसेवी बृद्धिजिवी, संचारकर्मी लगायत सहकर्मी कर्मचारी साथिहरु प्रति हार्दिक धन्यवाद दिन चाहन्छु । पुन यस परिद्षबाट प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेमा धुलिखेल नगरको भौतिक पूर्वाधार लगायत आर्थिक तथा सामाजिक क्षेत्रको समग्र विकासमा सकारात्मक प्रभाव गर्ने देखिएकोले यसको सफल कार्यान्वयनका लागि सम्वद्ध सबै पक्षहरुबाट सदाझै निरन्तर सहयोगको अपेक्षा सहित हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नु हुने प्रमुख अतिथि माननिय सभासद ज्यू, विशष्टि अतिथिज्यूहरु सबै अतिथिज्यूहरु र अन्य सम्पूर्ण उपस्थित महानु भावहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै पुनः सबैमा धन्यवाद सहित विदा हुन्छु ।

धन्यवाद ! नमस्कार
विश्वराज मरासेनी
प्रमुख तथा कार्यकारी अधिकृत