FAQs Complain Problems

समाचार

मिति: २०७४/०३/२५ गते धुलिखेल नगरपालिकाको पहिलो नगर सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट |

 

धुलिखेल नगरपालिकाको पहिलो नगर सभामा
नगर प्रमुख श्री अशोक कुमार ब्याञ्जू श्रेष्ठद्धारा प्रस्तुत
नीति, कार्यक्रम तथा बजेट

१. यस नगर सभाका आदरणीय सभासद्ज्यूहरु, आमन्त्रित विशिष्ट अतिथि तथा अतिथि गण, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखज्यूहरु, संचारकर्मी मित्रहरु यवं यस कार्यक्रममा उपस्थित सम्पूण महानुभावहरुमा धुलिखेल नगरपालिकाको पहिलो नगर सभाको वैठकमा यस नगरपालिकाको तर्फबाट तथा मेरो ब्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु । यस गरिमामय नगरसभाको सदस्यको रुपमा निर्वाचित हुनु भएका सम्पूर्ण सदस्य वा सभासद्ज्यूहरुलाई हार्दिक वधाई दिंदै यहाँहरुको सफल कार्यकालको शुभकामना समेत ब्यक्त गर्न चाहन्छु ।
२. मध्येकालमा विकास भएको भारत तथा तिब्बत बीचको ब्यापारीक मार्गमा अवस्थित धुलिखेल आजभन्दा ६०० बर्ष अगाडि स्थापित भएको एउटा सुन्दर पहाडी नगरी हो । कला, संस्कृति र रहनसहनमा धनी नेवार समुदायको बस्ती रहेको यस नगरीको नाम धली ख्यः भन्ने शब्दबाट उत्पत्ति भएको विश्वास गरिन्छ । शब्दानुवाद गर्दा दहीको चौर भन्ने अर्थ लाग्ने धली ख्यः नामबाट विकासको प्रारम्भिक कालमा नै धुलिखेलको सम्पन्न र वैभवलाई झल्काउदछ ।
३. आधुनिक नेपालको सन्र्दभमा चर्चा गर्दा नेपालको एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यको पहिचान बनाएको धुलिखेल, राजधानीबाट केबल ३५ कि.मी.को दुरीमा अबस्थीत एउटा शितल, शान्त, प्रदुषणरहित, हरीयालीयुक्त सहर भनेर चिनिन्छ । २०६८ को जनगणनामा ३२१६३ जनसंख्या रहेको यो सानो सहरले विगत देखि नै विकासमा अलग्गै पहिचान निर्माण गरेको छ । लगानीलाई केन्द्रित गरी राष्ट्र मै गर्व गर्न लायक संरचनाहरु जस्तै काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल तथा सामुदायिक खानेपानी आयोजना सफलतापूर्वक सम्पन्न गरेको वा स्थापनामा सहयोग गरेको यस नगरपालिकाले आफ्नो वजेट भन्दा पनि वैदेशिक सहयोगलाई प्रभावकारी रुपमा परिचालन गर्न सक्ने नगरको परिचय समेत बनाएको छ ।
४. धुलिखेललाई आजको अवस्थामा पु¥याउन यसलाई माया गर्ने कयौं अग्रज तथा समाजसेवीहरुको पसिना बगेको छ । हामी वहाँहरु सवै प्रति ऋणी छौं । आनन्द मल्लले ४ वटा टोलको विकासबाट जग बसाएको धुलिखेल आज ५५ वर्ग कि.मि. क्षेत्रफलमा विस्तारित तथा १२ वडामा विभाजित भै एउटा ठूलो र फराकिलो परिवार बन्न पुगेको छ । आज यो नगर विविध संभावना, अवसर र चुनौतिहरुका बीचमा उभिएको छ । प्रज्ञा, शक्ति र एकतामा जोड दिदै आगामी बाटो तय गर्ने प्रण गरेको धुलिखेल, गौरवशाली ईतिहास र समृद्ध भविष्यको बीचमा उभिइरहेको छ । यस ऐतिहासिक कालखण्डमा यस नगरपालिकाको जननिर्वाचित प्रमुखको रुपमा आज पहिलो नगर सभामा यहाँहरुको वीचमा उभिदा म आफुलाई शौभाग्यशाली ठानी रहेको छु ।
५. आज यस गरिमामय सभामा उभिएर आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा वजेट पेश गर्दै गर्दा म नेपालका सम्पूर्ण वलिदानीपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य प्राण उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्घासुमन अर्पण गर्दै सोही आन्दोलनका घाईतेहरुको शिघ्र स्वाथ्यलाभको कामना गर्न चाहन्छु ।
६. जनप्रतिनिधिमूलक यस निकायमा १९ बर्ष पछि सम्पन्न भएको निर्वाचनबाट १४ बर्षको अन्तरालमा प्रतिनिधिको रुपमा चुनिएर काम थालनी गरेको यो सुखदः अवसरमा हामीलाई आफ्नो अमूल्य मत दिई जिताउने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, जनप्रतिनिधि विहीनताको अवस्थामा समेत जनअपेक्षा वमोजिम कार्य सम्पादन गरी जनसहभागितामूलक पद्धतिबाट विकास निर्माण तथा सेवा प्रवाहलाई निरन्तरता दिन सफल भएकोमा कार्यकारी अधिकृत लगायतका सम्पूर्ण कर्मचारी मित्रहरुलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु ।  
७. दुईवटा राष्ट्रिय राजमार्ग, प्रतिष्ठित विश्वविद्यालय, अत्याधुनिक अस्पताल लगायतका पूर्वाधार भएको, एउटा उपत्यकाको रुपमा फैलिएको धुलिखेललाई प्रदेश नं. ३ को राजधानीको रुपमा विकास गर्न सकिने प्रवल संभावना रहेकोले, सरोकारवालाहरु सवै समक्ष यसै मञ्च मार्फत प्रस्ताव राख्दै, त्यस दिशामा अगाडि वढ्न म यहाँहरु समक्ष प्रण गर्न चाहन्छु । सामाजिक सद्भाव र सहिष्णुताको वेजोड उदाहरणको रुपमा रहेको धुलिखेलको उक्त प्रस्ताव शहर्ष स्वीकृत गर्न यस प्रदेशका सवै सरोकारवाला निकायहरुलाई हार्दिक अनुरोध समेत गर्न चाहन्छु ।
८. यस महत्वपूर्ण अवसरमा, केही अत्यन्तै गंभिर तथा सान्दर्भीक विषयहरुमा म यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु ः
८.१. स्थानीय तहको सहज संचालनको लागि अनिवार्य मानिएको स्थानीय तह सम्बन्धी विधेयक आजको मिति सम्म पनि ब्यवस्थापिका संसद्मा विचाराधिन रहेको, यसैगरी प्राकृतिक स्रोत तथा वित्तीय आयोग संग सम्बन्धित कानून लगायत स्थानीय तह कार्यान्वयनको लागि आवश्यक कानूनहरु अझै सम्म पारित हुन नसकेको कारणले जनअपेक्षा वमोजिम कार्य प्रभावकारी बनाउन सकिएको छैन । अतः म यसै सभा मार्फत सम्बन्धित निकायको गंभिर ध्यानाकर्षण गराउन चाहन्छु ।
८.२. नगरपालिकाहरुले विगतमा रजिष्ट्रशन शुल्क, सवारी साधन कर तथा वहाल कर संकलन गर्ने तथा राजश्व वाडफाड मार्फत प्राप्त गर्ने गरेकोमा उक्त करहरु नेपालको संविधानको अनुसूचीहरु मार्फत स्थानीय तह, प्रदेश तथा केन्द्र समेतको अधिकार क्षेत्रमा पर्ने भै संकलित रकमको बाडफाडको खाका एकिन हुनु पर्नेमा त्यस्तो भै सकेको छैन । नेपालको संविधान, २०७२ ले स्थानीय निकायलाई दिएका महत्वपूर्ण राजश्व परिचालनका यि शिर्षकहरुबाट परिचालित रकमको के कति अंश नगरपालिकाले पाउने हो भन्ने नै एकिन गर्न नसकिएकोले बार्षिक वजेटको सीमा निर्धारणमा नै अलमल हुन गएको छ ।
८.३. नगरपालिकाहरुले विगतमा उठाएको वहाल कर, यदि त्यसै अनुपातमा मात्रै नगरपालिकाले प्राप्त गर्ने, यसै गरी सवारी साधन कर विगतकै जस्तो गरी असूली गर्ने तथा रजिष्ट्रशन वापतको रकम विगतकै अनुपातमा वाडफाड हुने हो भने नगरपालिकाको स्वायत्तता ब्यवहारमा कार्यान्वयन गर्न सकिदैन भनी यसै वजेट वक्तब्य मार्फत नेपाल सरकार तथा ब्यवस्थापिका संसद्का ध्यानाकर्षण गराउन चाहन्छु । यसले सिंहदरवार गाउँ गाउँमा पुगेको भनी जनतामा दिलाईएको विश्वास भ्रममा परिणत हुनु जाने तर्फ सवैको गंभिर ध्यानाकर्षण गराउन चाहन्छु । ति तीनवटै करको बाँडफाड गर्दा नगरपालिकाको अंश कम्तिमा पचास प्रतिशत गरिनु पर्ने स्पष्ट अडान समेत यसै गरिमामय सभामार्फत राख्न चाहन्छु ।
८.४. नगरपालिकाको स्वदेशी तथा विदेशी दातृ निकाय तथा वित्तीय संस्था संग ऋण लिन सक्ने कानूनी खाका तर्जुमा नभैसकेको कारणले तथा आन्तरिक स्रोत परिचालनको एकिन तश्विर प्राप्त नभएकोले घाटा वजेट प्रस्ताव गरिएको छ्रैन । समय क्रममा कानूनी बाटो एकिन भए पछि तथा अस्पष्ट रहेका विषयहरु एकिन भए पछि आगामी आर्थिक बर्षको समिक्षा गर्दा पुरक वजेट समेत ल्याउनु पर्ने बाध्यता रहेको ब्यहोरा यस सभालाई जनकारी गराउन चाहन्छु ।
८.५. सार्बजनीक पूर्वाधार, खुल्ला क्षेत्र तथा खेलकुद तथा मनोरञ्जन स्थलको ब्यबस्थापन न.पाको प्रमुख दायीत्व हो तर जग्गाको उपलब्धता तथा ब्यबस्थापन यसको पहिलो शर्त हो । सार्बजानिक जग्गाको ब्यबस्थापनको जिम्मा नगरपालिकाहरुले प्राप्त नगरेमा जनताको अपेक्षा बमोजिमको विकास निर्माण गर्न सम्भव देखिन्दैन । जग्गा खरिद गरी यस्ता पूर्वाधार निर्माण गर्नू निकै महँगो हुन जान्छ । विगतमा स्थानीय स्वायत शासन ऐनले स्थानीय निकायलाई प्रदान गरको यो अधिकारमा हाल सरकारले जारी गरेको परिपत्रले अंकुश लगाएको छ । उक्त परिपत्र अविलम्ब फिर्ता लिन र नगरपालिको आफ्नो विकास निर्मणमा सार्वजानीक जग्गाको प्रयोगको मार्ग प्रसस्त गर्न जोडदार आवाज उठाउन चाहन्छु ।
८.६. धुलिखेलको ऐतिहासिक महत्व तथा अस्थित्व बुझाउने उमामहेश्वरको मूर्तिलाई साविकको ठाउँमा आवश्यक पूर्वाधार र पर्याप्त सुरक्षा सहित पुनःस्थापित गर्न नेपाल सरकारका सवै सम्बन्धित निकाय समक्ष सादर अनुरोध गर्न चाहन्छु ।
९. अव म आ.व. ०७३÷७४ को प्रगति समिक्षा संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहान्छु ः
९.१. आ.ब २०७३÷७४ मा आन्तरीक आय रु. २ करोड २० लाख ४४ हजार तथा बाह्य आम्दानी रु. १० करोड ५९ लाख ५९ हजार एवं राजश्व वाडफाड समेत गरी कुल रु. १३ करोड ४७ लाख ८६ हजारको बजेट तथा कार्यक्रम तर्जूमा गरीएको थियो । आर्थिक बर्ष सम्पन्न नभइसकेको कारणले यर्थाथ आम्दानी तथा यर्थाथ खर्चको विवरण पेश गर्न सम्भब भएन तर पनि आन्तरीक आय तर्फ अनुमानित ८६.०६ प्रतिशत तथा बाह्य आय तर्फ ७२.५४ प्रतिशत संकलन भएको, साथै खर्च तर्फ आर्थिक बर्षको मसान्त सम्म चालु खर्च ८५ प्रतिशत तथा पूँजीगत खर्च ६५ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ ।
९.२. सीमित स्रोत तथा साधन हुने हाम्रो जस्तो निकायमा पुँजीगत खर्च न्यून हुनु अत्यन्त दुःखद विषय हो । प्राय सम्पूर्ण कार्य उपभोक्ता समिति मार्फत हुने भएता पनि समयमै सम्झौता नहुने, लागत सहभागीता जुटाउन कठिनाई तथा पेश्की विना काम गर्न नसक्ने अबस्था एंव समयमै पेश्की फस्र्यौट नगर्ने प्रवृतिका कारण आशातित प्रगति हासिल गर्न सकिएको अवस्था छैन । निर्माण व्यवसायि मार्फत गरिने कार्यमा पनि निर्माण ब्यवसायिको काम ओगट्ने तर काम नगर्ने प्रवृत्ति, समयमा ठेक्का बन्दोवस्त नहुने, समयमा कार्यक्रम स्वीकृत नहुने तथा निर्माण सामाग्रीको अभाव, एवं छिटो शुरु भएको मनसुन समेतको कारणले यस्तो परिस्थिति पर्न गएको छ । यसलाई गंभिर रुपमा ममन् गरी आगामी दिनमा जनप्रतिनिधिहरु समेत परिचालित भै प्रभावकारी अनुगमन गर्दै पूँजीगत खर्चमा उल्लेख्य प्रगति गर्ने आशा तथा विश्वास दिलाउन चाहन्छु ।   
१०. वित्तिय अनुशासन तर्फ विचार गर्दा समिक्षा अबधिमा कुल बेरुजु २,६६,९४,८७२ कायम रहेकोमा चालू आ.ब मा ६७,२४,१०३ फस्यौट भएको देखिन्छ भने सामाजिक सुरक्षा भत्ताको ढिलो निकासी तथा योजनाहरुमा लिएको पेश्की समयमा फस्यौट नभएर ठूलै रकम पेश्की बेरुजु बाँकी रहने अबस्था देखिएको छ । चालू आर्थिक बर्षको आय ब्ययाको लेखा परिक्षण महालेखा परिक्षकको कार्यालयबाट सम्पन्न हुने संबैधानीक प्राबधानले गर्दा आगामी दिनमा आर्थिक अनुशासन कायम गर्ने कुरामा सुधार आउने र कार्यालयका सम्बन्धित शाखा तथा कर्मचारीको क्षमता विकास हुन जाने अपेक्षा लिएकोछु । यसका अलवा, जनप्रतिनिधिहरुले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिने प्रण गरेको कारणले समेत बित्तिय अनुशासनमा सुधार आउने कुरामा म विश्वस्त छु ।
११. उपस्थित विशिष्ट महानुभावहरु ः
आ.व.  ०७४÷७५  को वजेट तर्जुमा गर्दा देहायका विषयहरुलाई प्रमुख नीतिगत मार्गदर्शनको रुपमा अवलम्बन गरिएको छ ः
ड्ड    नेपालको संविधान, २०७२ ले निर्देशित गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्वन्धी विषय तथा प्राथमिकताहरु ।
ड्ड    नेपालको संविधान, २०७२ को अनुसुची ८ तथा ९ ले स्थानीय तहको लागि तोकेको राजस्व परिचालन सम्वन्धी खाका, खर्च जिम्मेबारीको क्षेत्र, अन्तरसरकारी हस्तान्तरणको विषय तथा स्थानीय तहको ऋण संरचनाको स्वरुप ।
ड्ड    यस नगरपालिकाको प्रमुखको रुपमा जनतासंग मत माग्दा व्यक्त गरेका प्रतिवद्घता पत्र तथा समय समय जनतासंग गरेका वचनवद्घताहरु ।
ड्ड    चौधौं योजनाले निर्दिष्ट गरेका लक्ष्य एवं उद्देश्यहरु साथै दिगो विकासको रणनीतिले अङ्रगीकार गरेका तथ्य, सुचक एवं प्राथमिकताहरु ।
ड्ड    नेपाल सरकार, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, एवं जिल्ला समन्वयसमिति, काभ्रेबाट प्राप्त वजेट सिलिङ, मार्गदर्शन एवम् निर्देशनहरु तथासुझावहरु ।
ड्ड    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नगपालिकाका बीच सम्पन्न कार्यसम्पादन सम्झौताले परिलक्षित गरेका सुचकहरु ।
१२. अव म हामीले आगामी बर्षको लागि प्रस्ताव गरेको आय व्ययको खाका र हामीले उच्च प्राथमिकता दिएका केही विषयहको बारेमा प्रकाश पार्न चाहन्छु ः
१२.१. ब्यवस्थापिका संसद्मा प्रस्तुत आगामी आर्थिक बर्षको वजेट वक्तब्यका साथ प्राप्त भएको समानीकरण अनुदान १७ करोड २२ लाख तथा सशर्त अनुदान १२ करोड ९० लाख अनुदान रकम प्राप्त भएको ब्यहोरा यस सभालाई जानकारी गराउन चाहन्छु । यसै गरी सोही वजेट वक्तब्यको विभिन्न बुँदाहरुमा स्थानीय तहमा हस्तान्तरण हुने भनिएका कार्यक्रमहरुको लागि सोही वमोजिम सशर्त अनुदान तथा समानीकरण अनुदानमा रकम समायोजन गरिएको देखिएको छ । यसको अलावा वजेट वक्तब्यमा नगरपालिकाको हकमा कुनै पनि विषयगत कार्यालयले कार्यान्वयन गर्ने एक करोड भन्दा सानो वजेटका कार्यक्रमहरु नगरपालिकामा हस्तान्तरण हुने र नगरपालिकाले माग गरेमा सोही कार्यालयहरुले प्राविधिक सहायता उपलब्ध गराउने भनीएका कार्यक्रम के कति हस्तान्तरण भै आउदछन् तथा यसले नगरपालिकाको वजेट सिलिङमा के कस्तो प्रभाव पार्छ भनी आज एकिन साथ वताउन सकिने अवस्था रहेन ।
१२.२. सशर्त अनुदान स्वरुप प्राप्त रु १२.९० करोडबाट संचालन गरिने कार्यक्रमहरु तथा त्यसको लागि लाग्ने लागत समेत एकिन गरी विविध कार्यक्रमहरु निक्षेपित भै आएको सन्दर्भमा उक्त कार्यक्रमहरुलाई हुवहु स्वीकृत गरिएको छ ।
१२.३. नेपाल सरकारबाट समानीकरण अनुदान स्वरुप प्राप्त भएका कार्यक्रमहरुमा यस नगरपालिकाको क्षेत्र भित्र लागू भएका कार्यक्रम तथा त्यसमा साविक तथा आगामी आर्थिक बर्षको लागि प्रस्तावित रकमको अंक एकिन गर्न सकिएन । अतः समानिकरण अनुदान तर्फ समावेश भएका सम्पूर्ण कार्यक्रमहरुको लागि स्रोतको ब्यवस्थापन गर्न एकमुष्ट रुपमा रु ५ करोड विनियोजन प्रस्ताव गरेको छु ।
१२.४. विगत ८ बर्ष देखी संचालनमा रहेको काभ्रे उपत्यका एकिकृत खानेपानी परियोजनालाई आगामी आर्थिक बर्षमा सम्पन्न गरिनेछ । यस आयोजनको लागि चालु आ.व.मा यस नगरपालिकाको दायित्व स्वरुप तिर्नु पर्ने रकम पचास लाख भुक्तानी गरिने छ साथै आगामी आर्थिक बर्षका लागि एक करोड पचास लाख विनियोजन प्रस्ताव गरेको छु ।
१२.५. आय आर्जन गर्ने प्रकृतिका पसल कवल, बस पार्क लगायतका संरचनाहरु नगर विकास कोषको ऋण सहयोगमा सम्पन्न गर्ने नीति लिइएको छ । यस प्रयोजनको लागि दुई करोड ऋण प्रस्ताव गरेको छु । यसैगरी नगर विकास कोषको साझेदारीमा स्थानीय आर्थिक विकासका कार्यक्रमहरु संचालन गर्न उक्त कोषबाट थप ५० लाख परिचालन गरीने तथा यस कार्यको लागि नगरपालिकाको तर्फबाट आवश्यक रकम लागत सहभागिता प्रस्ताव गरेको छु ।
१२.६. धुलिखेल नगरपालिकाका प्रत्यक वडा कार्यालयहरुलाई सामान्य सडक, सडक वत्ति, तथा अन्य आकस्मिक मर्मतका कार्यहरु तथा तत्काल आवश्यक पर्ने खालका साना योजनाहरु संचालन गर्न, वडाबाट नै खर्च गर्ने गरी पाँच लाख प्रस्ताव गरिएको छ । यसै गरी वडा कार्यालयले प्रथमिकता तोकेका क्षेत्रहरुमा कुनै हेरफेर नगरी योजना स्वीकृत गर्ने गरी प्रति वडा २० लाख वजेटको ब्यवस्था मिलाएको छु । उक्त रकम प्रशासनीक खर्च वाहेकको विकास वजेट हो । विकासलाई समानुपातिक, समन्यायिक तथा सन्तुलित वनाउन प्रत्यक वडामा कम्तिमा ६० लाखको योजना तथा कार्यक्रमहरु पर्ने गरी वजेटको वाडफाड मिलाएको छु ।
१२.७. स्थानीय निकाय स्रोत परिचालन कार्यविधिको अवलम्वन गरिएका यस पूर्व गरिएका नगरपरिषद्बाट पूँजीगत वजेटको ३५ प्रतिशत रकम छुट्टाई महिलाको क्षेत्रमा १० प्रतिशत, बालबालीकाको क्षेत्रमा १० प्रतिशत तथा अन्य लक्षित वर्गमा १५ प्रतिशत रकम विनियोजन गर्ने गरिएको थियो । तर स्थानीय सरकारको रुपमा ठूलो परिमाणमा स्रोत परिचालन गरी वजेटको वाडफाड गर्दा सोही अनुपातमा रकम विनियोजन गर्न संभव भएन । तर समावेशी विकासका माध्यद्धारा समुदाय स्तर सम्म विस्तार भएका क्षमता विकास तथा प्रवर्धनात्मक कार्यक्रमहरुलाई निरन्तरता नदिदा त्यसको नकारात्मक असर पर्ने समेत तथ्यलाई मनन गर्दै यस्ता कार्यको लागि रु ४० लाख विनियोजन गरिएको छ ।
१२.८. यसपूर्व बालमैत्री नगरपालिका बनाउने प्रतिवद्धता जनाएका नगरपालिकाहरुको हकमा बालवालीकाको क्षेत्रमा थप ५ प्रतिशत स्रोत विनियोजन गर्नु पर्ने प्रावधान थियो । धुलिखेलाई बालमैत्री नगर बनाउने हाम्रो साझा प्रतिवद्धता हो । बालमैत्री धुलिखेल बनाउने अभियान तर्फ रु एक करोड विनियोजन प्रस्ताव गरेको छु ।
१२.९. योजनावद्ध विकासको मार्गमा धुलिखेललाई अगाडि वढाउने प्रयासस्वरु एकिकृत नगर विकास योजना तर्जुमा गर्ने निर्णय गरिएको र यसको लागि २० लाख वजेटको ब्यवस्था गरिएको छ । यस योजना दस्तावेजले आर्थिक विकास, भू उपयोग योजना, पर्यटकिय विकासको कार्ययोजना लगायतका ७ वटा नीति दस्तावेजलाई समेट्नेछ र यो दस्तावेज समृद्ध धुलिखेलको वलियो जग सावित हुनेछ ।
१२.१०. धुलिखेल एउटा ऐतिहासिक तथा साँस्कृतिक शहर हो । हाम्रा संस्कृतिहरु मूर्त मात्रै छैनन् अमूर्त पनि छन् । विभिन्न जात जाति, जनजाति तथा भाषा भाषीका आफ्नै मौलिक सास्कृतिक धरोहरहरु छन् ।यिनिहरुको संरक्षण, विकास तथा प्रवर्धन गर्नु हामी सवैको साझा कर्तब्य हो । यसको लागि रु १५ लाख प्रस्ताव गरेको छु ।
१२.११. समग्र खेलकुदका कार्यक्रमहरु संचालन गर्न, खेलकुदका पूर्वाधारहरु निर्माण गर्न तथा प्रतियोगिताहरु आयोजना गर्न सघाउने समेतका खेलकुद सम्वद्ध कृयाकलाप संचालन गर्न रु २५ लाख खर्च प्रस्ताव गरेको छु ।
१३. अवलम्बन गरिएका महत्वपूर्ण तथा मार्गदर्शक नीतिहरु : आगामी आ.व.को वजेट तर्जुमा गर्दा लिइएका महत्वपूर्ण क्षेत्रगत नीतिहरु यसप्रकार छन् |
१३.१. पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरु
१३.१.१. गत आ.ब. मा  सञ्चालनमा रहेका योजनाहरुलाई प्राथमिकतामै राखी सम्पन्न गरीनेछ । यसलाई सम्बोधन गर्न एक करोड बजेट विनियोजन गरिएको छ । साविक धुलिखेल नगरपालिका भित्रका सडकहरुमा लगत कट्टाको लागि पहल गरिनेछ ।
१३.१.२.   आकस्मिक सडक मर्मत सम्भारको कार्य गर्न ५० लाख विनियोजन गरेको छु । यसबाट धुलिखेलका शहरी सडकहरु विग्रनुपूर्व तथा बर्सात पछि मर्मत सम्भार भई शहरको सुन्दरता वृद्धी गर्दै दुर्घटना न्यूनिकरणमा योगदान पुग्ने विश्वास लिएको छु । यसबाट ग्रामीण सडकको आकस्मीक मर्मत समेत गरिने छ ।
१३.१.३. ४ फिट भन्दा अग्ला, भुकम्पीय दृष्टिले जोखिम युक्त पर्खालहरु एवं कच्चा किसिमले निर्माण भएका पर्खाललाई भत्काउन लगाईनेछ । एक घर दुई रुखको नीति लिइने छ । यसले हरियालीयुुक्त धुलिखेल कायम राख्न मद्दत पुग्ने देखिन्छ । प्रत्यक्ष रोजगारी सृजना गर्ने कम्तीमा एक आयोजना महिला कै सहभागितामा मात्र सञ्चालन गर्ने नीति लिइने छ ।    
१३.१.४. तिव्र सहरीकरणलाई व्यवस्थापन गर्न, पूर्वाधार संरचनाहरु सोही वमोजिम निर्माण गर्न एवं धुलिखेलको आर्थिक विकासमा टेवा दिन धुलिखेल नगरक्षेत्र भित्र चक्रपथ रेखांकन सम्पन्न गरिने छ ।
१३.१.५.  धुलिखेल नगरका विभिन्न सार्वजनिक यातायातको रुट निर्माण गरी सार्वजनिक यातायात सञ्चालनको पहल गरिनेछ ।
१३.१.६ सौर्य सडक वत्ती जडानलाई अभियानको रुपमा अगाडि लगिने छ । यसैगरी ग्रामीण विद्युतिकरणलाई प्राथमिकता दिईनेछ । सौर्य सडक वत्ति तथा ग्रामीण विद्युतिकरणको लागि एकमुष्ट रु ६० लाख प्रस्ताव गरेको छु ।
१३.१.७. जुनसुकै शिर्षकबाट बजेट विनियोजन गरिएको भएतापनि जुन आर्थिक बर्षको लागि बजेट विनियोजन गरिएको हो, सोही आर्थिक बर्षमा आयोजना सम्पन्न गरिसक्नु पर्ने नीति लिइनेछ । आ.ब. को चैत्र मसान्त सम्म सम्झौता गरी कार्यान्वयन अघि नवढेका उपभोक्ता समिति मार्फत संचालन गरिने योजनाहरुलाई रकमान्तर गर्ने नीति लिइने छ ।
१३.१.८. बजार, पसल, रेष्टुरा, कार्यालय वा यस्तै प्रकारका साईनवोर्ड, प्रचार सामाग्री तथा होर्डिङ्ग वोर्डले घरमा उज्यालो तथा हावाको प्रवाह नै रोक्ने गरेको देखिएकोले यस्तो प्रचार तथा संकेत सामाग्री राख्नको लागि मापदण्ड तयार गरी कार्यान्वयन गरिने नीति लिइने छ ।
१३.१.९. न.पा.को भौतिक एवं सामाजिक सेवालाई अपागं मैत्री बनाउदै लगिने छ । अपांग मैत्री ¥याम्प निर्माणमा केन्द्रीत हुँदै पार्किङ, फुटपाथ, जेव्रा क्रशिङ आदिमा नमूना अपांग मैत्री संरचना निर्माण गर्ने नीतिलाई निरन्तरता दिईने छ । त्यस्तै सङ्केत युक्त टायल लगाई  फुटपाथ बनाउने नीति लिइने छ ।
१३.१.१०. योजनाबद्ध विकासको मार्गमा धुलिखेलाई डोहो¥याउने क्रममा नगर यातायात गुरुयोजना ःत्ःए तर्जुमा गरिने छ । प्रस्तुत गुरुयोजनाले नगर भित्रका सडकहरुको वर्गिकरण, सडक अधिकार क्षेत्र निर्धारण तथा समन्वयात्मक विकासमा मद्दत गर्ने विश्वास लिइएको छ ।
१३.१.११. नगरपालिकाका सबै वडा केन्द्रहरु सम्म क्रमशः कालोपत्रे सडक निर्माण गरिनेछ । नगरस्तरीय सडकहरुलाई बाह्रै महिना सवारी साधन चल्ने गरी स्तरोन्नति गरिनेछ । सबै गाउँ, बस्तीहरुमा सडक सञ्जाल पुर्याइनेछ ।
१३.१.१२. सुर्यविनायकदेखि धुलिखेलसम्म ६ लेनको सडक निर्माण कार्य अबिलम्ब अगाडि बढाउन पहल गरिनेछ । पछिल्लो समयमा विश्वसनीयता आर्जन गर्दै गरेको र हाल साँगा भञ्जाङ सम्म सेवा दिई रहेको साझा यातायातलाई धुलिखेल सम्म सेवा सञ्चालन गर्न आग्रह गरी सहज रुपमा रुट पर्मिट जारी हुने तथा सहज रुपमा सेवा दिने वातावरण मिलाइनेछ । उद्योग वाणिज्य संघको समन्वयमा धुलिखेलका ब्यवसायि साथिहरु सहयात्रा गर्न तैयार भएमा निश्चित रकमको शेयर लगानी गर्दै साझाको सेवा मात्रै होइन, साझाको साझेदार पनि बन्न पहल गरिनेछ ।
१३.१.१२. नगरक्षेत्र भित्र पर्ने बिपी राजमार्ग तथा अरनिको राजमार्गको दायाँ बायाँ फुटपाथ निर्माण गरिनेछ । यसैगरी देवीटार क्षेत्र तथा शंखु क्षेत्र जोड्ने बाटोहरुको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखिनेछ ।
१३.१.१३. सम्पूर्ण नागरिकहरुलाई स्वच्छ पिउने पानीको पहुँच हुनेछ । काभ्रे उपत्यका खानेपानी योजनालाई निर्धारित समयमै सम्पन्न गरिनेछ । पातलेखेल, काभ्रे, देबीटार, रबिओपी, शंखु, शारदा बतासे लगायतका क्षेत्रमा सम्भाव्य श्रोतहरु पहिचान तथा नविनतम प्रविधिको प्रयोग गरी दिगो खानेपानी आपूर्तिको ब्यवस्थापन गरिनेछ ।
१३.१.१४. मुख्य सार्बजनिक स्थलहरुमा सार्वजनिक शौचालयको ब्यवस्था गरिनेछ । सिङ्गो नगरलाई खुल्ला दिसामुक्त गराइनेछ । काभ्रे एकिकृत खानेपानी आयोजनाको क्षेत्र बाहिर खानेपानी आयोजना संचालन गर्न एक करोड रकम प्रस्ताव गरेको छु ।
१३.१.१५. नगरपालिका क्षेत्रभित्र एउटा पहाडी नमूना बस्तीको विकास गरिनेछ । धुलिखेल क्षेत्रलाई सुरक्षित, ब्यवस्थित, सुविधा सम्पन्न र आकर्षक आवास केन्द्रको रुपमा विकास गरिने छ । टाउन प्लान बिस्तारका लागि आबश्यक कार्यविधि र मापदण्ड बनाई नियमन र ब्यवस्थापन गरिनेछ ।
१३.१.१६. नगरपालिकामा एउटा नगर सभागृह तथा बहुद्देश्यीय कभर्ड हल निर्माणको थालनी गरिनेछ । प्रत्येक वडामा खुला क्षेत्रको रुपमा पनि प्रयोग गर्न सकिने गरी वहुउपयोगी खेलमैदान निर्माण गरिनेछ ।
१३.१.१७. विद्युतीय शासन तथा सेवा प्रणालीलाई प्रबद्र्धन गरिनेछ । सार्बजनिक स्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सुविधाको ब्यवस्था गरिनेछ र  नगरपालिकालाई क्mबचत ऋष्तथ को रुपमा विकसित गरिनेछ ।
१३.१.१८. सुरक्षित शहर (क्बातभ ऋष्तथ) हाम्रो प्रतिबद्धता हो । चेलीबेटी बेचबिखन, बोक्सीको आरोप, घरेलु हिंसा, यातना, संगठित अपराध, वालविवाह, चोरी, डकैती, छुवाछुत, लैंगिक हिंसा, यौनजन्य हिंसा, जबरजस्ती श्रम गराउने, बधुवा मजदुर, वालश्रम, अमानवीय दुब्र्यवहार अन्त गर्न कानून बनाई कार्यान्वयन गरिनेछ । आपतकालीन अवस्थाको लागि आवश्यक सुरक्षा प्रणालीको ब्यवस्था गरिनेछ । संविधानको भावना बमोजिम कानून बनाई नगर प्रहरी सेवाको स्थापना गरिनेछ ।

१३.२. फोहरमैला ब्यवस्थापन,वातावरण तथा प्रकोप ब्यवस्थापन क्षेत्रका नीति तथा कार्यक्रमहरु
१३.२.१. नगरक्षेत्रको फोहोरमैलाको दिगो ब्यवस्थापनका लागि ब्यवस्थित ल्याण्डफिलसाइटको पूर्बाधार निर्माण गरिनेछ । सबै वडामा ब्यवस्थित ढल निकासको निर्माण गरिनेछ । धुलिखेल तथा श्रीखण्डपुरमा फोहरपानी प्रशोधन प्रणाली स्थापना गरिनेछ । नगरको आन्तरीक स्रोतले यी स्केलको आयोजना संरचना गर्न संभव नभएकोले दातृ निकाय समक्ष पहल गरीने छ ।
१३.२.२. घरेलु फोहरलाई कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने तीन तहमा घरमै छुट्ट्याई सो को उपयोग र उचित ब्यवस्थापनका लागि निजी क्षेत्र र गैरसरकारी निकायसँग साझेदारी गरिनेछ ।
१३.२.३. सार्वजनिक स्थलहरूमा फोहोरमैला फ्याँक्ने, सूर्तिजन्य पदार्थको प्रयोग गर्ने, भित्तेलेखन गर्ने र मापदण्ड विपरीतका प्लाष्टिक झोला वा वातावरणमा प्रतिकूल असर पार्ने सामाग्रीको प्रयोगलाई पूर्णतः निषेध गरिनेछ ।
१३.२.४. स्वच्छ तथा हराभरा धुलिखेलको लक्ष्यका साथ हरियाली प्रवद्र्धन गर्न सडकको दायाँ बायाँ बृक्षारोपण कार्यक्रम तथा एक वडा एक पार्क÷उद्यान कार्यक्रमलाई निरन्तरता दिईने छ । जलवायु परिवर्तन र यसको प्रभावका कारण पानीको श्रोतमा आएको कामी र जमीनमुनीको पानिको सतह घटेको कुरालाई ध्यानमा राख्दै एक वडा एक पोखरीको कार्यक्रमलाई निरन्तरता दिदै  भएका पोखरी, ईनार, कुवा, धारा, आदिको संरक्षणमा विशेष जोड दिईने छ  । समग्र वातावरण मैत्री कार्यक्रमको निरन्तरताको लागि रु ५० लाख प्रस्ताव गरेकोछु ।
१३.२.५. केही छानिएका क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न टोल विकास संस्थासँग सहकार्य गरिने छ । जथाभावी फोहर फाल्नेलाई आवश्यक कारवाही गर्न एउटा अनुगमन तथा निगरानी समिति बनाइने छ । हाल फोहोरमैला बयबस्थापनमा गरिएकोमा नयाँ सम्झौता प्रभाबकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । यसको समिक्षा गरी सम्झौता पुनराबलोकन वा अन्य विकल्प अपनाई समस्याको समाधान गरीने छ । फोहरमैला व्यवस्थापन ऐन, २०६८ लाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।
१३.२.६. गाडि मर्मत संभार गर्ने वर्कसपहरुले अनिवार्य रुपमा आफ्नो प्रयोगको क्षेत्र पक्की बनाई गाडिले सडकमा हिलो ल्याउन नपाउने र मोविल लागयत दुषीत पानी नालिमा पठाउन नपाउने नीति कडाईका साथ लागू गरिनेछ ।
१३.२.७. घडेरी खार्ने कार्यलाई निरुत्साहित गरिनेछ । घडेर खार्न अनुमति लिनु पर्ने, ठूलो स्केलमा खन्नु वा पुर्नु पर्दा वातावरणीय अध्ययन गरिनु पर्ने तथा घडेरी खार्दा सडकमा माटो आउने अवस्था गर्न नपाईने नीति लागू गरिनेछ ।
१३.२.८. ढल निकासको पर्याप्त ब्यवस्था नहुँदा सडकमा पानी जम्ने, फोहर पानीले सहर बस्ती दुषीत वनाउने तथा बालीको उत्पादकत्व घट्ने भएकोले ढल तथा ढल प्रशोधन क्षेत्र निर्माणको लागि रु २५ लाख प्रस्ताव गरेको छु ।
१३.२.९. भुकम्पबाट घरबार नै गुमाएका बिपन्न परिवारहरुलाई भवन निर्माणको लागि सरकारले तोकेका नक्सा निर्माण तथा नक्सा पासका लागि लाग्ने शुल्क मिनाह गरिनेछ । भुकम्प प्रभावित परिवारहरुको पुर्नस्थापनाको लागि जीविकोपार्जन कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
१३.२.१०. धुलिखेलका अन्तराष्ट्रिय रुपमा प्रख्यात ब्यक्ति तथा ब्यक्तित्वहरुको सहयोग लिदै पुनः निर्माणलाई गतिशिल बनाईनेछ । पुनःनिर्माण क्षेत्रका समस्याहरुको निराकरण गर्न कार्यदल तथा कार्यटोलीहरुको निर्माण गरी समुदाय स्तरमा नै खटाइनेछ । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरुहरुको ब्यवस्थित पुर्ननिर्माणको कार्य तत्काल अगाडि बढाउन आवश्यक पहल गरीने छ ।
१३.२.११. विपद ब्यवस्थापनको लागि संस्थागत संरचनाहरु सुदृढ गर्दै संभावित बिपद् जोखिम पहिचान गरी पूर्वतैयारीको लागि आवश्यक कार्य गरिनेछ । आपतकालीन खोज, उद्धार तथा राहत र पुर्ननिर्माणका लागि आबश्यक प्रबन्ध गरिनेछ । विपतको समयमा प्रयोग गरीने कोष खडा गरीने छ । आगामी आ.व.मा यस कोषमा नगरपालिकाको तर्फबाट रु. १० लाख उपलब्ध गराइने छ । ब्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्र, गैर सरकारी क्षेत्र र अन्य सरकारी निकायहरुलाई पनि यस कोषमा योगदान गर्न प्रेरित गरिने छ ।
१३.२.१२. दमकलको ब्यवस्था गरी आपतकालीन प्रयोगका लागि तयारी अवस्थामा राखिनेछ । दमकल व्यवस्था गर्न काभ्रे उपत्यकाका अन्य न.पा.हरुसंग साझेदारी गरीने छ ।
१३.२.१३. नगर क्षेत्रभित्र रहेको वनक्षेत्र संरक्षण गरिनेछ । वनको दिगो उपभोग र ब्यवस्थापनको लागि समुदायमा आधारित वन ब्यवस्थापनलाई प्रबद्र्धन गरिनेछ । सडकका दायाँबायाँ बिभिन्न प्रजातिका रुख तथा फुलहरु रोपी न्चभभल ऋष्तथ को अवधारणा अनुरुप विकास गरिनेछ ।
१३.२.१४. समृद्धिका लागि वनको अवधारणा अनुरुप श्रीखण्डपुरको छलेश्वर वन, स्वर्गे हुमेन डाँडा वन, कटुवापाखा वन, शंखुको वन, फस्कोट वन लगायतका नगरक्षेत्रका सामुदायिक वनहरुको संरक्षण गर्दै इको टुरिजमको अवधारणा अनुरुप विकास गरिनेछ ।
१३.२.१५. वायु प्रदुषण, भूप्रदुषण, ध्वनी प्रदुषण नियन्त्रणका लागि आबश्यक नीतिहरुको तर्जुमा गरी प्रदुषणमुक्त नगरको रुपमा अगाडि बढाइनेछ ।
१३.२.१६. नगरक्षेत्र भित्रको जैविक विविधता र जैवीक चक्र अध्ययन गरी त्यसको संरक्षणको लागि आवश्यक ऐन नियम योजना बनाई कार्यान्वयन गरिनेछ । साथै जलवायु परिर्वनले पारेका असर र प्रभावको अध्ययन गरी जलवायु अनुकुलन योजना निर्माण गरी कार्यान्वयन गरिनेछ । ऋभिबल ऋष्तथ को अवधारणा अनुरुप न्यून कार्वन उत्सर्जनको लागि नीति बनाई कार्यान्वयन गरिने छ । गोबरग्यास, सोलार लगायत सफा उर्जा र बैकल्पिक उर्जा विस्तारलाई प्रोत्साहन गरिनेछ ।
१३.२.१७. पचासवटा भन्दा धेरै गेष्ट रुम भएका पर्यटकीय होटलहरु, तथा ठूला तथा ब्यवसायिक प्रयोजनको लागि निर्माण गरिएका अन्य घरहरुले आफ्नो होटल तथा घरबाट निस्कने फोहर पानी स्वयं प्रशोधन गर्नु पर्ने नीति लागू गरिने छ ।
१३.३. स्थानीय आर्थिक विकास संग केन्द्रीत नीति तथा कार्यक्रमहरु
१३.३.१. आगामी आर्थिक बर्षमा धुलिखेलको विकासमा विगतमा साथ र सहयोग दिएका तथा आगामी दिनमा हामीलाई सहयोग गर्न इच्छुक दातृनिकायहरुको सम्मेलन आयोजना गरिनेछ । यसको लागि रु ५ लाख वजेट प्रस्ताव गरेको छ ।
१३.३.२. खेतीयोग्य भूमिमा सिंचाई सुविधा विस्तारको लागि स्थायी श्रोतहरुको पहिचान तथा विकास गरिनेछ । सिंचाईको ब्यवस्थापनका लागि प्लाष्टिक पोखरी, आकासे पानी संकलन, स्प्रिंकल तथा थोपा सिंचाई जस्ता उपयुक्त प्रविधिहरुको विस्तार गरिनेछ । समग्र सिंचाईका कृयाकलाप संचालन गर्न रु २५ लाख विनियोजन गरेको छु ।
१३.३.३. ब्यवस्थित बगैंचा र गुणस्तर सुधारमा सहयोग गर्दै शंखु तथा शारदा बतासे क्षेत्रलाई सुन्तला पकेट क्षेत्र, रबिओपी, पातलेखेत, काभ्रे क्षेत्रलाई दुध तथा तरकारी पकेट क्षेत्रको रुपमा विकास गरिनेछ । कृषिजन्य उत्पादनहरुको सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र निर्माणमा निजी क्षेत्र र सहकारीहरुलाई प्रेरित गरिनेछ ।
१३.३.४. नगरपालिकाका तल्लो भेग ठूलीटार, दारिम्बोट, बडालगाउँ, रबिओपी, देबीटार लगायतका स्थानलाई लिची, कफी, अनार लगायतका फलफुल पकेटक्षेत्रको रुपमा विकसित गरिनेछ । सम्भाब्य क्षेत्रहरुमा अर्गानिक तरकारी पकेट क्षेत्रको रुपमा अगाडि बढाइनेछ । अर्गानिक खेति गर्न चाहने कृषक समुह वा सहकारीहरुलाई आवश्यक सहयोग पुर्याईनेछ ।
१३.३.५. मल, बीउ, सिंचाई, प्रबिधि र कृषि उपजको बजारको लागि वजार पहूँच विस्तार गरिनेछ । कृषि प्राविधिकको सेवालाई  कृषकको सर्बसुलभ पहुँचका लागि वडास्तरमै पुर्याइनेछ ।  
१३.३.६. आधुनिक पशु वधशाला स्थापना र निर्माण गर्न मासु व्यवसायीहरुको सहकारी निर्माण गर्न प्रेरित गरिने छ । यस्तो सहकारीमा नगरपालिकाले टोकन मनी प्रदान गर्नेछ ।
१३.३.७. जग्गा जमिन कम भएका शहरी क्षेत्रहरुमा कौसी खेती, गमला खेती, करेसाबारी लगायतका शहरी कृषि प्रणालीलाई प्रबद्र्धन गरिनेछ । कृषि योग्य भूमी बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिने छ । यस्तो जमीनमा २० प्रतिशत अतिरिक्त कर लागू हुनेछ ।
१३.३.८. नगरक्षेत्रभित्र उत्पादन हुने तरकारीहरुको सामुहिक बिक्री बितरणको लागि संकलन केन्द्रहरु, सामुहिक उद्यम तथा उत्पादन कार्य गर्न आवश्यक स्थानहरुमा साझा सुविधा केन्द्र, लघु साना तथा घरेलु उद्योगहरुवाट उत्पादित सामान विक्री वितरणको लागि बिक्री कक्ष तथा कोसेली घर स्थापना गरिनेछ ।
१३.३.९. धुलिखेललाई पर्यटकीय गन्तब्यको रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षण केन्द्रका रुपमा विकास गरिनेछ ।धुलिखेल पर्यटन विकासको थप मार्ग चित्र कोर्न पर्यटन गुरु योजना निर्माण भै रहेको छ । यसको लागि नपाबाट आबश्यक सहयोग उपलब्ध गराइने छ ।
१३.३.१०. शहरको उचित स्थानमा मौलिक प्रकृतिको धुलिखेल स्मारक निर्माण गर्ने, कुनै उपयुक्त स्थानमा घण्टाघर स्थापना गर्ने तथा धुलिखेलको परिचय झल्कने डकुमेन्ट्री निर्माण समेत गरिनेछ । यि कार्यहरुम पर्यटन वोर्ड लगायतका संस्थाहरु संग साझेदारी गरिनेछ । स्मारक तथा घण्टाघर निर्माणको लागि काम थालनी गर्न रु १० लाखको व्यवस्था गरिएको छ भने लायन्स, लियो, रोटरी, तथा जेशिस जस्ता संस्था एवं चन्दादाता मार्फत बाँकी सहयोग परिचालन गरिनेछ ।
१३.३.११. यस शहरलाई कला साधकहरुको गन्तब्यको रुपमा विकास गर्न संगितकर्मी, मूर्तिकार, चित्रकारहरुको जमघट गराई कलाको सृजना हुने मेला पर्वहरुको आयोजना गरिने छ । कवि सम्मेलन तथा साहित्यिक गोष्टिहरु समेत आयोजना गर्न नगरपालिकाले तत् क्षेत्रका संघ संस्थासंग साझेदारी गर्नेछ ।
१३.३.१२. नगरक्षेत्रको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको थप उजागर र संरक्षण गरी पर्यटकीय नगरको रुपमा राष्ट्रिय पहिचान बनाउँदै धुलिखेललाई नेपालकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकसित गरिनेछ ।
१३.३.१३. धुलिखेलको ठूलो वनक्षेत्रलाई कृत्रिम ताल, बोटानिकल पार्क सहितको मनोरञ्जन पार्क निर्माण गरी पर्यटन आकर्षण केन्द्रको रुपमा विकसित गर्न सम्भाव्यता अध्ययन गरिने छ । यसको लागि अन्तराष्ट्रिय सहयोगको आह्वान गरिनेछ । सार्वजनिक निजी साझेदारीमा कोही लगानी कर्ता लगानी गर्न इच्छुक भएमा आवश्यक सहजिकरण गरिनेछ ।
१३.३.१४. नगरकोटबाट धुलिखेल हुँदै नमोबुद्धसम्म ब्यवस्थित पर्यटकीय मार्ग निर्माण गरिनेछ । सो क्षेत्रमा आबश्यक शौचालय, बिश्रामस्थल, सूचनापाटी, पर्यटकीय नक्सा निर्माण गरिनेछ । यसको लागि ५ लाख प्रस्ताव गरेको छु ।
१३.३.१५. राष्ट्रिय बिभूति बलभद्र कुँवरको स्मृतिमा देबीस्थान लामापोखरीमा राष्ट्रिय विभूति बलभद्र कुँवर स्मृति पार्क निर्माण गरिनेछ । कथाकार गुरुप्रसाद मैनाली तथा वलभद्र पार्कमा शालीक लगायतका संरचना समेत निर्माण गरिनेछ । शंखुको महाभिरमा बन्जिजम्प निर्माणको लागि सम्भाब्यता अध्ययन गरी कार्य अगाडि बढाइनेछ ।
१३.३.१६. नगर क्षेत्रको उपयुक्त स्थानहरुमा पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ । हावापानी सुहाउँदो चिडियाखाना निर्माणको संभाब्यता अध्ययन गरिनेछ ।
१३.३.१७. उद्योगी ब्यवसायीहरुका लागि लगानीमैत्री वातावरण सिर्जना गरिनेछ । २५ जनाभन्दा बढिलाई रोजगारी दिने उद्योग, ब्यवसायहरुलाई ५ बर्षसम्म स्थानीय करमा छुटको व्यवस्था गरिनेछ । त्यस्ता उद्योगका स्थापना र संचालनका लागि आबश्यक पर्ने सडक, पानी तथा बिजुलीको ब्यवस्थापनमा सहजिकरण गरिनेछ । एक गाउँ एक उत्पादन, एक वडा एक पहिचानको अवधारणालाई प्रबद्र्धन गरिनेछ ।
१३.३.१८. ऐन नियमावली बनाई सहकारी संघ सस्थाहरुको दर्ता नविकरण नियमन गरिने छ । नागरिकहरुको बैंक तथा सहकारीहरुमा सहज पहुँचको लागि आवश्यक नीति बनाई कार्यान्वयन गरिने छ ।
१३.३.१९. सहकारी क्षेत्रलाई आर्थिक समृद्धि, जनताको जीवनस्तर वृद्धि, कृषिको व्यवसायिकरण र रोजगारी अभिवृद्धिको माध्यमका रूपमा अगाडि बढाइनेछ ।

१३.४. सामाजिक विकास क्षेत्रका नीतिहरु
१३.४.१. धुलिखेलनगरपालिकाल २०१७ सम्ममा नगरपालिकालाई बाल मैत्री नगर बनाउने अभियान थालनी गरेको छ । यस अभियानमा समाजका सवै वर्ग र समुदायहरु हातेमालो गरी परिचालित भएका छन् । हाम्रो हाल सम्मको प्रगति उत्साहजनक रहेको छ । तर नगरपालिकाले यो लक्ष्य तोकेको समयमा सम्पन्न गर्न सक्ने अवस्था देखिएको छैन । अतः यो लक्ष्य सन् २०१८ सम्ममा हासिल गर्ने अठोट गरी तदारुपकताका साथ कार्यसम्पादन गरिनेछ ।
१३.४.२. नपा भित्र संचालन हुने कार्य तथा कृयाकलापहरुमा बालश्रमिकको प्रयोग र परिचालनलाई निषेध गरिने नीति लाई निरन्तरता दिईने छ। उप–महानगरपालिका भित्र रहेका वडाहरुलाई बालश्रम मुक्त घोषणा गर्ने अभियानलाई तिव्रता दिईने छ ।    
१३.४.३. नगर स्वास्थ्य केन्द्रको ब्यवस्थापन, स्वास्थ्य चौकीहरुको सु संचालन, क्षमता विकास तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुको क्षमता विकासमा सहयोग पुर्याउने लगायत समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि रु १० लाख वजेट प्रस्ताव गरेको छु ।
१३.४.४. नगरक्षेत्र भित्रका सवै वाल विकास केन्द्रहरु तथा निजी मन्टेश्वरीहरुको सुचिकृत र अनुगमन गर्ने पद्धति लागू गरिनेछ । हरेक सामुदायिक विद्यालयमा प्रारम्भिक वाल विकास केन्द्र तथा पूर्व प्राथमिक कक्षा सञ्चालन गर्न प्रोत्साहन गरिने छ र ती केन्द्रहरुलाई वालमैत्री नगर स्थापनाको सूचक वमोजिम कृयाकलाप संचालन गरिने छ ।
१३.४.५. विद्यालय भर्ना दर बृद्धि गर्ने तथा छोड्ने दर न्युन गर्न विद्यालय भर्ना अभियान र विद्यालय जानका लागि प्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । साथै सरकारी, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाको सहयोग, समन्वय र सहकार्यमा औपचारिक शिक्षाबाट बंचित बालबालिकाहरु लगायत अन्यका लागि अनौपचारिक शिक्षा कक्षा संचालन गरिनेछ ।
१३.४.६. युवा वर्गमा लागु पदार्थ दुव्र्यसन प्रति सजगता तथा ज्क्ष्ख्रब्क्ष्म्क् रोकथाम तथा नियन्त्रणको लागि जनचेतनामूलक बिशेष कार्यक्रमहरु संचलान गरिने छ । लैङ्गिक अल्पसंख्यकहरुलाई आत्मसम्मानपूर्वक जीवन यापन गर्न सन्देशमुलक कार्यक्रमहरु संचालन गरिनेछ ।
१३.४.७. एकल महिला, अपाँङ्गता भएका ब्यक्ति, द्धन्द पिडीत, घरवार विहिन, तथा अति गरिव लगायत आर्थिक सामाजिक रुपमा पडाडि परेका परिवारका सदस्यहरुलाई स्वोजगारमुलक तालीम संचालन गर्नका लागि रु ६० लाख विनियोजन गरिएको छ ।
१३.४.८. नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर कायम गर्दै विद्यालयका लागि सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, खेलकुदको व्यवस्था, सरसफाई आदिको प्रबन्ध विद्यार्थी संख्याको अनुपातमा गरिनेछ । शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइनेछ । विद्यालयलाई शान्तिक्षेत्र बनाइनेछ ।
१३.४.९. काठमाण्डौ बिश्वविद्यालयमा हुने उच्च शिक्षाका लागि धुलिखेल नगर क्षेत्रका विद्यार्थीहरुलाई प्राथमिकताका साथ छात्रबृत्तिको ब्यवस्था गरिनेछ । विश्वविद्यालय र नगरपालिकाका बीचमा सुमधुर सम्बन्ध स्थापित गर्न नीतिगत पहल लिइनेछ । सार्वजनिक निजी साझेदारीको अवधारणामा एक कृषि क्याम्पस स्थापना र संचालन गर्न पहल गरीने छ । धुलिखेल अस्पताल संगको साझेदारीमा सामाजिक सुरक्षाका कार्यक्रमहरु तर्जुमा तथा कार्यान्वयन गरिनेछ ।
१३.४.१०. स्वस्थ शहरको अवधारणालाई अगाडि बढाउँदै स्वास्थ्य चौकीहरुमा २४सै घण्टा द्यष्चतजष्लन ऋभलतभच सञ्चालन तथा सेवा सुनिश्चित भएको प्रयोगशाला, एक्स रे, पर्याप्त औषधीको व्यवस्था गरी आधारभूत र प्राथमिक स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गरिनेछ । आर्युवेदिक, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका प्रचलित स्वास्थ्य उपचार सेवाको प्रवद्र्घन गरिने छ ।
१३.४.११. लक्षित बर्गहरुलाई विकासको मूलप्रवाहमा ल्याउन सहजीकरणका लागि नगरपालिकामा महिला परिषद, युवा परिषद, दलित परिषद, आदिवासी जनजाति परिषदहरुको गठन गरिनेछ । परिषदको कार्यविधि र नगरपालिकाले स्वीकृत गरी लागु गरीनेछ । लक्षीत वर्गको वजेट कार्यान्वयन र त्यसको अनुगमनमा यस्ता परिषद्को परिचालन गरिनेछ ।
१३.४.१२. नगरभित्र रहेका उद्योग तथा ब्यवसाय हरुमा निश्चित प्रतिशत नगरबासीलाई रोजगारी दिने ब्यवस्था गरिनेछ भने सबै क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको हकलाई सुनिश्चित गर्दै लगिनेछ । समान कामको लागि समान ज्याला नीति कडाईका साथ कार्यान्वयन गरिनेछ ।
१३.४.१३. युवाहरूलाई रूपान्तरणका संबाहक र नेतृत्वका साझेदारको रुपमा विकास गर्दै सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रका समग्र जिम्मेवारी सम्हाल्न युवा नेतृत्व विकास गरिने छ । उद्यमशिलताको प्रवर्धन, तुलनात्मक लाभका क्षेत्रहरुको खोजी र पहिचान तथा व्यवसाय थालनी परामर्श केन्द्र लगायतका कार्य गर्न रु ५ लाख ब्यवस्था गरेको छु ।
१३.४.१४. कलाकार, खेलाडि, स्रष्टा, संस्कृतिकर्मी, मिडियाकर्मी र सबै क्षेत्रका अगुवा र समाजसेवीहरुलाई सम्मानका साथ सामाजिक अभियानमा उत्प्रेरित गरिनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा धुलिखेललाई चिनाउने यस्ता स्रष्टाहरुलाई उचित सम्मान गर्ने नीति लिईनेछ ।
१३.४.१५. जेष्ठ नागरिक, एकल र विधवा महिला, असक्त अपाङ्ग र बालवालिकालाई नेपाल सरकारवाट प्रदान गरिदै आएको सुरक्षा भत्ता समयमै सुलभ तौरवाट उपलब्ध गराउने ब्यवस्था मिलाइनेछ । जेष्ठ नागरिकहरुको ज्ञान अनुभवलाई उपयोग गरिने कार्यक्रमहरु संचालन गरिनेछ ।
१३.५. सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन संग सम्बन्धित नीतिहरु
१३.५.१. नगरपालिकामा आबश्यक र उपयुक्त कानून, नियमावली, कार्यविधि तथा निर्देशिकाहरु तयार गरी नगरवासीहरुलाई सरल, सहज र प्रभावकारी सेवा प्रदान गरिनेछ ।
१३.५.२. नगरको समग्र विकासमा सामुदायिक संस्थाहरु, गैरसरकारी क्षेत्र, सहकारीक्षेत्र, निजी क्षेत्र, अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग साझेदारी र सहकार्य गरिनेछ ।
१३.५.३. वडा कार्यालयलाई नागरिकहरुको पहिलो र नजिकको सरकारको रुपमा विकास गरिनेछ । वडा कार्यालयहरुलाई भौतिक सुविधा सम्पन्न गरिदै लगिनेछ र आवश्यक जनशक्ति आपूर्ति गरिनेछ । प्रत्येक वडा कार्यालयहरुमा नागरिक वडापत्र राखिनेछ । वडा कार्यालयहरुको समग्र क्षमता विकासको लागि रु ३० लाख प्रस्ताव गरेको छु ।
१३.५.४. नगरपालिकाका हाल संचालित सवै सवारी साधनहरु पुराना भै सकेको अवस्था छ । अन्य विषयगत कार्यालयहरुबाट कर्मचारी समायोजन भै आउने क्रममा सवारी साधन प्राप्त हुने नहुने कुरा एकिन छैन । अतः समायोजनको चरण सम्म केही महिना प्रतिक्षा गरी, सवारी साधन प्राप्त हुने अवस्था नभएमा मध्यम स्तरको कार्यालय प्रयोजनको सवारी साधन नगरपालिकाको आन्तरिक आयबाटै खरिद गरिने छ । यसको लागि ६० लाख विनियोजन प्रस्ताव गरेको छु । सवारी साधन खरिद गर्नु नपरेमा उक्त रकम विकास निर्माणमा नै खर्च गरिनेछ ।
१३.५.५. नगरपालिकाबाट सम्पादन हुने हरेक आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् स्थानीय सुशासन कायम गरिनेछ । गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र बिश्वसनीय बनाइनेछ। ईबिडिङ प्रणालीलाई कार्यान्वयन गरिनेछ । गुणस्तर मापदण्ड बनाई लागू गरिनेछ । विकास कार्यहरुको ब्यवस्थित अनुगमन नीति तथा प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ ।
१३.५.६. नगरक्षेत्रको योजनाबद्ध विकासमा सहयोग पुर्याउन योजनाविद् र बृद्धिजीवीहरु सम्मिलित नगरस्तरीय योजना आयोगको गठन गरिनेछ । नगरपालिकाका सम्पूर्ण निर्वाचित पदाधिकारीहरु तथा कर्मचारीहरुको लागि आचारसंहिता बनाई लागू गरिसकिएको छ । निर्वाचित भए लगत्तै र कार्यकाल समाप्त भएपछि अनिवार्य सम्पत्ति बिवरण बुझाउने कानूनी ब्यवस्था कडाईका साथ पालना गरिनेछ ।
१३.५.७. नागरिकहरुको सूचनामा सहज पहुँच सुनिश्चिताको लागि आवश्यक ब्यवस्था गरिनेछ । क्रमशः खुला सरकारको अवधारणा अवलम्बन गरिनेछ । सामाजिक सञ्जाल तथा विद्युतिय प्रविधिहरुको स्थापना, प्रयोग र विस्तार गरिनेछ ।
१३.५.८. उपभोक्ता हित संरक्षण सम्बन्धी नागरिक अगुवाहरु समेतको सहभागितामा एउटा निकाय स्थापना गरेर उपभोक्ता शिक्षा, सूचना र बजार अनुगमनको व्यवस्था प्रभावकारी ढङ्गले लागू गरिनेछ । सबै पसलहरूमा मूल्यसूची राख्न अनिवार्य गर्ने तथा मूल्य र गुणस्तरको नियमित अनुगमन गरिने छ ।
१३.५.९. नगरपालिकाबाट सम्पादन हुने न्यायप्रणालीलाई सरल, सहज र सबैको पहुँचमा पुर्याइनेछ । वडाहरुमा मध्यस्थता र सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गर्दै उनीहरुको क्षमता विकास र परिचालन गरिनेछ । नगरको उप प्रमुखको संयोजकत्वमा गठन हुने न्यायिक समितिलाई श्रोत साधनयुक्त वनाईनेछ ।
१३.५.१०. सेवाग्राहीको अधिकारलाई सम्वोधन सवै वडा कार्यालय र विषयगत इकाइमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी गरिने छ । यसको लागि रु ५० हजारको क्षतिपूर्ति कोषको ब्यवस्था गरिएको छ । तोकिएको समयमा सेवा प्राप्त नभएमा यसै कोषबाट क्षतिपूर्ति दिइनेछ र कर्मचारीलाई उत्तरदायी बनाईने छ । यसबाट नगरपालिकाको सेवा प्रवाह अझै प्रभावकारी र विश्वसनीय हुने विश्वास लिइएको छ ।
१३.५.११. सेवा प्रवाहका हरेक क्षेत्रमा प्रबिधिको विकास तथा बिस्तार गरी भ्(न्यखभचलबलअभ लाई तिव्रता दिईने छ । सेवाहरुलाई प्रथम चरणमा कम्प्युटर प्रबिधिमा आधारित तथा दोस्रो चरणमा इन्टरनेटमा आधारित (यलष्लिभ क्भचखष्अभ) बनाई प्रवाह गर्ने नीति रहेको छ ।
१३.५.१२. आम नगरबासीलाई सेवा तथा सूचना दिने प्रयोजनको लागि नपाले मोवाइल एप संचालनमा ल्याउनेछ । धुलिखेलबासी आदरणीय नागरिकहरुलाई नपाबाट जारी गरिने सेवा तथा सेवा लिन सम्पर्क राख्नु पर्ने स्थानहरु, एवं सूचना तथा सार्वजनिक जानकारीका विषयहरुको अलावा, वहाँहरुको दैनिकी संग जोडिएका विविध विषयहरु यस एप मार्फत नगरबासीको हात हातमा पु¥याइनेछ ।
१३.५.१३. नगरपालिका उत्कृष्ट काम गर्ने कर्मचारीहरु, वडा सचिवहरु, सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयं सेवकहरु त्था टोल विकास संस्था, नागरिक सचेतना केन्द्र, कृषक समूह, सहकारी आदिलाई उचित अवसरमा पुरस्र्कत गर्ने नीति लिईनेछ ।
१३.५.१४. नगरका पदाधिकारी तथा सदस्यहरुको लागि कुनै पारिश्रमिक वा भत्ता प्रस्ताव गरिएको छैन । पदाधिकारी तथा सदस्यहरुको वैठक भत्ता, तथा भ्रमण भत्ताको लागि रु १० लाख प्रस्ताव गरिएको छ ।
१३.५.१५. नगरमा बस्ने परिवारहरुको वेबमा आधारित पारिवारिक बिवरण अभिलेख राख्ने प्रणाली स्थापना गर्न साझेदारहरुको खोजी गरिनेछ ।
१३.६. भवन निर्माण, नक्सा पास, तथा भूमी ब्यवस्थापन सम्बन्धी नीतिहरु
१३.६.१. यस धुलिखेल नगरपालिकाबाट नक्सा पास गरी निर्माण भएका भवनहरुमा तला थप गर्नको लागि माग गरेमा, तत्कालिन नक्सा पास भएको सडक मापदण्ड, सडक अधिकार क्षेत्र तथा सेट व्याक पूरा भएको, तथा सडक ऐन अनुसरण गरेको, सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण नगरेको अवस्थामा  र “राष्ट्रिय भवन संहिता—२०६०”  अनुसार आवश्यकता भएमा भूकम्पीय सुदृढीकरण (च्भतचयाष्ततष्लन) सहित तला थपको अनुमति प्रदान गर्ने नीति लिइनेछ । नक्सा स्वीकृत गर्न कम्प्युटर प्रणाली जडान गरिने छ । फ्रि वाईफाई सेवा लगयत समग्रसूचना प्रविधिको विकासमा रु १५ लाख विनियोजन गरेकोछु ।
१३.६.२. नगरपालिका क्षेत्र भित्रका सार्वजनिक, पर्ति, ऐलानी जग्गाहरुको संरक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ । नपा क्षेत्रमा रहेको सार्वजनिक जग्गाहरु नपाको स्वामित्वमा ल्याउनको लागि सबैको सहयोग प्राप्त हुने अपेक्षा लिइएको छ ।
१३.६.३. नगरपालिका क्षेत्र भित्र सार्वजनिक जग्गाको प्रयोग कुन सामाजिक संस्थाले कहिले देखी के प्रयोजनको लागि गरेका छन्, त्यसको लगत तयार पारिने छ ।
१३.६.४. यस धुलिखेल नगरपालिको वडा नं. ४ मा रहेको विगत लामो समयदेखि सुस्त गतिमा बढीरहेको ीबलमउययष्लिन लाई आगामी आ. बमा ठोस प्रगति हुने गरि अघि बढाइने छ ।
१३.६.५. बस्ती विकास शहरी  योजना तथा भवन निर्माण मापदण्ड बमोजिम प्लटिङ्गलाई ब्यबस्थित गरिनेछ । न.पा बाट स्रवीकृति नलिई गरिएको प्लटिङ्गमा नक्सा पास नगर्ने नीति हामीले तर्जूमा गरिसकेको छौ । यस्ता प्लटिङ्गहरुलाई समयमा नै स्वीकृति लिन पनि एक महिना समय अबधि तोकी सूचना जारी गरिसकीएको छ । ीबलम ग्कभ एबिल  नबने सम्म बस्ती बस्न  अयोग्य क्षेत्रमा प्लटिङ्ग स्वीकृति दिइने छैन ।
१३.६.६. नपाले सहरी योजना, बस्ती विकास तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड जारी गरी कार्यान्वयन गरेको छ । यसलाई कडाइका साथ कार्यान्वयन गरिने छ । नगरपालिकाका विस्तारित वडाहरुमा सडक मापदण्ड र घरको मापदण्ड पुगेका घरहरुको आगामी आ.व. भित्र मात्र समय तोकि नक्सा अभिलेखीकरणको लागि अनुरोध गरिनेछ । यस्तो अभिलेखीकरण गर्दा गैर नाफामूलक तथा सामुदायिक संस्थाहरुको भवनलाई ५० प्रतिशत छुट दिइने छ ।
१३.७. राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संबन्ध विस्तार तर्फका नीतिहरु ः
१३.७.१. यस नगरपालिकाको राष्ट्रिय तथा अन्तराष्ट्रिय नगरहरुसँग भगिनी सम्वन्ध कायम गर्ने नीति लिइनेछ र यस कार्यमा नगरको पहिचान र हितलार्ई उच्च प्राथमिकतामा राखिनेछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संबन्ध विस्तार कार्यक्रमका लागि सदस्यता शुल्क लगायतका आवश्यक खर्चको व्यवस्थापन गर्न रु २ लाख वजेटको व्यवस्था मिलाईएको छ ।
१३.७.२. धुलिखेल नपाले अन्तराष्ट्रिय मञ्चमा आफुलाई उपस्थित गराउने पहल गरि रहेको छ । विभिन्न अन्तराष्ट्रिय सहरहरु संग भगिनी सम्बन्ध स्थापनको लागि सार्थक पहल भै रहेको छ । हालै धुलिखेलले ध्यचमि भ्(न्यखभचलmभलत इचनबलष्शबतष्यल ९ध्भन्इ० को सदस्यताको लागि आवेदन गरेको छ । अन्तरनगरपालिका तहका अन्य संस्थाहरु संग सम्बन्ध विस्तारको लागि थप पहल गरिने छ । नेपालकै अन्य शहरहरु संग मित्रवत तथा भगिनी सम्वन्ध स्थापना गर्न समेत पहल गरिनेछ । धुलिखेललाई माया गर्ने विभिन्न ब्यक्ति तथा संस्थाहरुलाई यस कार्यको लागि सद्भाव दुतको रुपमा परिचालन गरिनेछ ।
१३.८. राजश्व परिचालन सम्बन्धी नीतिहरु
१३.८.१. श्रोत परिचालनलाई समतामुलक, प्रगतिशिल र न्यायपूर्ण बनाईने छ । सबै सरोकारवाला एवं करदाताहरुको सहभागितामा राजश्व अभिबृद्धि गरि कुल बजेटमा आन्तरिक आम्दानीको अंश बृद्धि गरिदै लगिनेछ ।  घर वहाल कर, सवारी कर, ब्यवसाय कर संकलनका क्षेत्रमा थप मेहनत गरी प्रभाबकारी रुपमा स्रोत परिचालन गरिनेछ ।  
१३.८.२. आगामी आ.व.मा करको दायरा विस्तार गरिने नीति लिइएको छ । यस्को लागि कर संकलनका अभियानहरु संचालन गरिनेछन् भने विभिन्न सरोकारवालाहरु संग गरिएको साझेदारी सम्झौताको समिक्षा र पूनरावलोकन समेत गरिनेछ ।
 १३.८.३. नगरपालिकाको लागि भरपर्दो कर प्रणाली एकिकृत सम्पत्ति कर नै हो भन्ने मान्यतालाई स्वीकार गर्दै एकिकृत सम्पत्ति करको लागि गरिने जग्गाको मूल्याङ्कन, आगामी केही बर्ष पश्चात जग्गाको न्युनतम मूल्याकंन संग तादम्यता कायम गर्ने नीति लिईने छ । यसलाई स्थानीय स्रोतको मेरुदण्ढको रुपमा विकास गरिने छ । साथै घर संरचनाको मूल्यांकनलाई स्थानीय स्वायत्त साशन नियमावलीको सातौंँ संशोधनले तोके बमोजिम परिमार्जन गरिनेछ । यसबाट एकीकृत सम्पत्ति करमा केही बृद्धी हुन जानेछ ।
१३.८.४. न.पा.द्धारा बहालमा लगाईएका सम्पत्तीहरुको बहाल बन्दोबस्त गर्दा तथा आय संकलन कार्य अन्य संस्था मार्फत गराउँदा प्रतिस्पर्धात्मक बिधी अपनाई प्रचलित बजारदरको आधार कायम गरी बहाल बन्दोबस्त गर्दै लगिनेछ
१३.८.५. हरित भवनको मापदण्ड पुरा भएका भवनको नक्शा पास गर्दा तथा ५ बर्ष सम्म एकीकृत सम्पत्ति कर निर्धारण गर्दा लाग्ने करमा १० प्रतिशत तथा अण्डर ग्राउण्ड पार्किङ्ग बनाउने भवनमा नक्शापास दस्तुरमा १०% (दश प्रतिशत) छुटको नीति लिइनेछ ।
आदरणीय सभासद्ज्यूहरु एवं उपस्थित महानुभावहरु,    
१४. अब म आगामी आर्थिक बर्षको लागि लिईएका प्रमुख क्षेत्रगत नीति तथा कार्यक्रमको बारेमा संक्षिप्त प्रकाश पार्न चाहन्छु ः
१४.१. आगामी आ.व.०७४÷७५ को लागि कुल आय निर्धारण गर्दा आन्तरीक आय ५ करोड ८१ लाख, राजस्व वाडफाडबाट रु.एक करोड, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदानवाट १७ करोड २२ लाख, सर्शत अनुदान १२ करोड ९० लाख, नगर विकास कोषको ऋण रकम २ करोड, अन्र्तराष्ट्रिय सहयोग २ करोड, सडक बोर्डबाट आउने सडक मर्मत खर्च ६५ लाख तथा बैड्ढ मौज्दात  (अ. ल्या.) ४८ लाख गरी ४२ करोड ६६ लाखको वजेट सीमा तयार गरिएको छ । सशर्त अनुदानको रकमबाट संचालन गरिने कृयाकलापहरु मध्ये चालु तथा पूँजीगत तर्फका कार्यक्रम एकिन गर्न नसकिएकोले कुल वजेटमा चालु खर्च तथा पूँजीगत खर्चको हिस्सा एकिन रुपमा देखाउन सकिएको छैन ।
१४.२. माथि पेश गरेको आय विवरणमा समाजिक सुरक्षा तर्फको वजेट समाविष्ट गरेको छैन । विगतमा  स्थानीय निकायहरुले प्रयोग गरेको वजेट तर्जुमा ढाँचा र हाल स्थानीय तहको कार्य क्षेत्रमा व्यापक परिवर्तन भएकोले विगत तथा चालु आर्थिक वर्षको धुलिखेल नगरपालिकाको आय व्ययसंग तुलना गर्न सकने अबस्था समेत बन्न गएन ।
१४.३. आन्तरीक आयको अनुमानको हकमा रजिष्ट्रेशन शुल्क, वहाल कर तथा सवारी साधन करको वाडफाड के कसरी हुने भन्ने एकिन नभइसकेको कारणले साविक नगरपालिकाले निर्धारण गरेको आय अनुमानमा समसामयिक तर सामान्य बृद्धी गरी लक्ष्य निर्धारण गरिएकोछ । उक्त करहरुको वाडफाड खाका एकिन भएपछि आय ब्ययामा समायोजन गरिने नै छ । ब्यबसाय कर, विभिन्न शुल्क तथा दस्तुरहरु साविकको दरमा सामान्य हेरफेर गरी प्रभाबाकारी रुपमा परिचालन गर्ने नीति रहेको तथा एकिकृत सम्पत्ति करको हकमा समसामयिक पुनरावलोकन गरीएको छ ।

माननीय सदस्य ज्यूहरु तथा अतिथिज्यूहरु ः
१५. योजनाको तर्जुमा जस्तै यसको कार्यान्वयन पनि महत्वपूर्ण पक्ष हो । हामीले तर्जुमा गरेका कतिपय नीति तथा कार्यक्रहरु सम्पादन गर्न हाम्रो सहकार्य, साझेदारी तथा रचनात्मक सहयोगको आवश्यकता पर्दछ । अतः यस अवसरमा धुलिखेलनगरपालिकाको विकासमा प्रभावकारी भूमिका खेल्न सरकारी निकायहरु, निजी क्षेत्र, दातृ निकाय लगायत, अन्तर्राष्ट्रिय संघ संस्थाहरु, गैर सरकारी संघ संस्थाहरु, टोल विकास संस्थाहरु तथा अन्य सम्पूर्ण सरोकारवालाहरुलाई यसै मञ्चबाट हार्दिक अनुरोध गर्न चाहन्छु ।
१६. लआज प्रस्तुत वजेट नगर सभाले स्वीकृत गर्नासाथ अविलम्ब यस धुलिखेल नगरपालिकाको वेव पेजमा अपलोड गरिने व्यहोरा निवेदन गर्दै वजेट तथा कार्यक्रमको पूर्ण विवरण, नगर विकास योजना तर्जुमाका प्रस्तुत आधार तथा लिइएको नीतिहरुको विस्तारित खाका समेटिएको बार्षिक नगर विकास योजना पुस्तक यथाशीघ्र यहाँहरु समक्ष उपलब्ध गराउने बाचा समेत गर्दछु । योजना तर्जूमा आफैमा महत्वपूर्ण त हो नै तर यसको कार्यान्वयन हुन सकेन भने वाञ्चित प्रभाब छाड्न सक्दैन । अत ः प्रस्तुत बजेट कार्यान्वयनमा सबै क्षेत्र र तहाको पूर्ण सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।
१७. राजनीतिक दलहरुले स्वच्छ प्रतिस्पर्धा मार्फत निर्वाचनमा भाग लिई जनमत मार्फत आज हामी यो नगरपालिका संचालन गर्ने भूमिकामा आई पुगेका छौं । यो संगै राजनीतिक प्रतिस्पर्धा र आग्रह सकिएर अव हामी एउटै टिम भएका छौं । हाम्रा नीति तर्जुमा गर्दा ज्यादा भन्दा ज्यादा अन्तरकृया र सुझाव संकलन गरिएको थियो । अतः नगरपालिकाको सुसंचालनको लागि सवै राजनीतिक दलको रचनात्मक सहयोगको अपेक्षा लिंदै आफ्नो तर्फबाट समेत पार्टिको नभई समग्र धुलिखेल र यहाँका जनताको साझा प्रतिनिधिको रुपमा सेवा गर्ने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु ।
१८. अन्तमा, आजको यस विशिष्ट अवसरमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएका अतिथिज्यूहरु तथा नगरसभाका सदस्यज्यूहरु सञ्चारकर्मी साथीहरु, विषयगत कार्यालय तथा नगरपालिकाका कर्मचारी मित्रहरु प्रति हार्दिक धन्यवाद् व्यक्त गर्न चाहन्छु । प्रस्तुत वजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रकृयामा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पु¥याउनु हुने नगरकार्यपालिकाका सदस्यज्यूहरु, विषय क्षेत्रगत समितिका पदाधिकारीहरु, वजेट तर्जुमा समितिका संयोजक एवं नगर उपप्रमुखज्यू, विषयगत कार्यालयका प्रतिनिधिहरु, कर्मचारी साथिहरु एवं सम्पूर्ण नगरवासी दाजुभाई तथा दिदिवहिनीहरुमा हार्दिक धन्यवाद छ ।
            
    धन्यवाद्

अशोक कुमार ब्यान्जु श्रेष्ठ
नगर प्रमुख
धुलिखेल नगरपालिका, धुलिखेल काभ्रे
मिति : २०७४ असार २५ गते